काठमाडौं, ४ पौष । आजबाट संसदको हिउँदे अधिवेशन शुरु । हिउँदे अधिवेशनमा सरकारले महत्वपूर्ण विधयेकहरु प्रस्तुत गर्दैछ । केही विधेयकहरुका कारण सत्तापक्ष र प्रतिपक्षबीच टकरावको सम्भावना देखिएको छ ।
संवैधानिक निकायमा नियुक्तिको संवैधानिक प्रावधानमा संशोधनका लागि सरकारले विधेयक लाने तयारी गरेको छ । रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठकमा कोरम संख्या संशोधन गरी प्रधानमन्त्री केपी शर्मा ओली अगाडि बढ्न खोजिरहेका छन् । विपक्षी दलका नेता शेरबहादुर देउवासँग भागवण्डामा सहमति नजुटेपछि ओली संविधान संशोधन गरेर बढ्न खोजेका हुन् । यसले संसद तात्तिने सम्भावना छ ।
त्यसबाहेक संसदमा नेपालको नक्शामा कालापानी र लिम्पियाधुरा समावेश गर्ने विषयले जोडतोडका साथ प्रवेश पाउन सक्छ । भारतले नयाँ नक्शा जारी गरेपछि यसको चर्को विरोध भएको थियो । संसदमा यो विषयले हिउँदलाई बिर्साउने गरी गर्मी बढाउन सक्छ ।
सभामुख चयनको विषय सबैभन्दा महत्वपूर्ण रहेको छ । सभामुखका लागि सत्तारुढ दलभित्र सहमति जुट्न सकेको छ । उपसभामुखमा कतिपय साना दलको दाबी छ । सभामुख चयनले संसदको वातावरण तात्तिने देखिन्छ ।
सरकारले अमेरिकी सहयोग सम्बन्धित एमसीसी पारितका लागि प्रस्ताव लाँदैछ । पूर्व सभामुख कृष्णबहादुर महराले यसलाई अलमल गरिदिएका थिए । यसको खुलासा स्वयं प्रधानमन्त्री ओलीले गरिसकेका छन् । अब एमसीसीलाई अगाडि बढाउन नयाँ सभामुख आउनेछन् । यस विषयमा सत्तारुढ दलभित्र विवाद रहेको छ । त्यसैले पनि यस विषयले संसद तात्तिनसक्छ ।
सरकारको कामकारबाहीप्रति सत्तारुढ र प्रतिपक्षको समेत चर्को आलोचना भइरहँदा संसदमा यसले महत्व पाउनेछ । विशेषगरी महङ्गीको माग, पूर्वाधार विकासमा ढिलाईलगायतका विषयको विरोध हुनसक्छ । सरकारले मन्त्रिपरिषदबाट पारित गरेका कतिपय विषयले संसदमा बहसका लागि प्रवेश पाउन सक्छ ।