ललितपुर, ४ पुष । तत्कालीन नेकपाका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा शुक्रबारबाट ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । नागदह तेक्वान्दो डोजाङले ललितपुरको धापाखेलमा आयोजना गरेको उक्त प्रतियोगिताको उद्घाटन खानेपानी मन्त्री बिना मगरले एक समारोहका बीच गरेकी हुन् ।
कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रले महत्वपूर्ण योगदान गर्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी हुन् । ‘राष्ट्रको नाम र इज्जत बढाउने क्षेत्र भनेकै खेलकुद हो ।’
उनले सम्बोधनमा भने, ‘खेलकुदले खेलाडीलाई अनुशासित हुन मात्रै सिकाउँदैन । राष्ट्रको पहिचानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले खेल क्षेत्रमा लगानी बढाउनु जरुरी छ ।’ नेपालमा सक्षम र क्षमतावान् खेलाडी उत्पादन गर्नका लागि यस्ता खेलकुदका कार्यक्रमहरु निरन्तर गरिनुपर्ने बताउँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा खेलकुद क्षेत्रले पनि उत्तिकै भूमिका खेल्ने धारणा राखे ।
शुक्रबारबाट प्रारम्भ भएको ‘प्रथम प्रकाश दाहाल स्मृति’ खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । काठमाडौं उपत्यका बाहेक देशका विभिन्न १५ जिल्लाहरुबाट खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरु मध्ये प्रथम हुनेले पचास हजार, दोस्रो हुनेले तीस हजार र तेस्रो हुनेले बीस हजार नगद रकम प्राप्त गर्ने आयोजक समूहका कार्यक्रम संयोजक कविराज मालीले जानकारी दिए । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई जनही ५/५ हजार रुपैयाँका दरले नगद पुरस्कार दिईने मालीले बताए ।