काठमाडौं ४ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. को २८ औं वार्षिक साधारणसभालाई आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
अब सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने भन्दै मन्त्री अर्यालले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरिन् । ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ । अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ । त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ ।’
सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताईन् । अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने उनको भनाई छ ।
सहकारी अभियानले अब संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने भन्दै उनले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताईन् । संस्था धेरै भएर मात्र प्रगति नहुने भन्दै उनले बित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा बढी मर्जर गर्न खोजिएको बताईन् । संस्था बढाउनुभन्दा मर्जर गरेर कार्यक्षेत्र बढाउदा बढी राम्रो हुने उनको भनाइ थियो ।