– गोपालप्रसाद बराल : “हजुर, हामी मुसहर त यति ठूलो शल्यक्रिया गरेर बच्ने कुरा कहिल्यै सोच्दैनाँै”, आन्द्रामा तीन प्वाल परेको ब्यथाले छट्पटिएका २१ वर्षीय छोरा सञ्जीव सादाको सफल शल्यक्रियापछि खुशीले विभोर हुनुभएका महोत्तरी रामगोपालपुर नगरपालिका–६ मुसहर बस्तीका सुरेश सादा मुसहरले भन्नुभयो, “छोराले नयाँ जीनगी (जीवन) पायो हजुर !” तराईको आदिवासी दलित समुदायका मुसहर जातिका कोही बिरामी भए ढ्याङ्ग्रो बजाएर धामी बसाउनेसम्म गर्दछन् ।
बिरामीलाई अस्पताल वा कुनै स्वास्थ्य संस्था लाने यो समुदायमा बानी बसेको छैन । महोत्तरीको रामगोपालपुर नगरपालिका–६ का २१ वर्षीय सञ्जीव सादा मुसहरले भने आन्द्रामा तीनवटा प्वाल परेर छटपटिँदा उपचार पाएर नयाँ जीवन पाएपछि त्यो परिवारमा खुशी छाएको हो । महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको सहकार्यमा जारी बृहत् निःशुल्क संयुक्त शल्य चिकित्सा घुम्ती शिविरमा उपचार सेवा पाएपछि सादाको परिवारमा खुशी छाएको हो ।
“शिविरको पहिलो दिन थियो, शुरुमै आएका बिरामी ढनमनिएर लडे, तत्काल आकस्मिक कक्षमा पु¥याएर जाँच थाल्यौँ”, शिविरमा नेपाली सेनाका तर्फबाट खटिनुभएका शल्यक्रिया अधिकृत डा मनिष थापाले भन्नुभयो, “जाँच गर्दै जाँदा त उहाँ (सञ्जीव)को आन्द्रामा तीन प्वाल रहेछन्, उहाँको शल्यक्रिया गरियो, अहिले परिवारका सबै हाँसीखुशी देख्दा आनन्द लागेको छ ।” नेपाली सेनाको व्यव्यस्थापनमा यही मङ्सिर २७ गतेबाट शुरु भएको शिविरमा सादाजस्तै गरीब परिवारका थुप्रैले उपचार पाएर नयाँ जीवन पाएका छन् ।
शिविर आयोजनास्थल सोनमा–३ खखनाकै ६२ वर्षीया काशीदेवीको पाँच किलोग्राम तौलको ट्युमर शल्यक्रिया गरेर फालिएको छ । असाध्य कष्ट झेल्दै आउनुभएकी काशीदेवीले अहिले आपूmले नसोचेको खुशी पाएको बताउनुभयो । शनिबारसम्मका लागि पूर्वनिर्धारित शिविर बिरामीको चापलाई दृष्टिगत गरी एक दिन बढाएर भोलि आइतबारसम्म सेनाले चलाउने भएको छ । शिविरमा बिरामी दर्तादेखि जाँच र उपचारसम्मको प्रबन्धमा सेनाका जवान अहोरात्र खटिरहेका छन् । शिविरमा शुक्रबार साँझसम्म २० हजार बिरामीले उपचार सेवा लिएका छन् ।
एउटै बिरामी फरक–फरक उपचारकक्षमा लिएको सेवा जोडिँदा कूल सेवा लिने सङ्ख्या २९ हजार ५०० नाघेको छ । स्वास्थ्य सेवा लिनेमा ५७ प्रतिशत महिला र ४३ प्रतिशत पुरुषको सङ्ख्या रहेको डा थापाले जानकारी दिनुभयो । शिविरमा शुक्रबार साँझसम्म २४३ जनाको जटिल प्रकृतिका समस्याको शल्यक्रिया गरिएको छ जसमा १३२ पुरुष र १११ महिला छन् ।
दश दिने यो शिविरमा नेपाली सेनाका ६० विशेषज्ञ चिकित्सक र १०५ स्वास्थ्यकर्मी (नर्स, पारामेडिकल, ल्याव टेक्निसियन) सहित १६५ जनाको दक्ष टोली कार्यरत छ । यसबाहेक शिविर बन्दोबस्त, सुरक्षा र अन्य प्रबन्धका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका समेत १०० जनशक्ति परिचालित रहेको छ ।
शिविरमा नाम दर्ता भएका बिरामी दक्ष चिकित्सक खटिएका बहिरङ्ग तर्फ पहिलो जाँच र परामर्शपछि समस्या पहिचान गरिएअनुसार आकस्मिक, मेडिसिन, सर्जरी, बालरोग, नाक–कान–घाँटी, छाती, स्त्रीरोग, हाडजोर्नी, दाँत, आँखा, छाला र फिजियोथेरापी कक्षमा पु¥याइन्छन् । आवश्यकताअनुसार बिरामीको इसिजी– कार्डियोलोजी र एक्सरे–अल्ट्रासाउण्ड गरिएको डा थापाले जानकारी दिनुभयो ।
यसबाहेक नेपाली सेनाको छ ट्रकमा साधन सम्पन्न मोबाइल हस्पिटल सेवा पनि सञ्चालनमा रहेको छ । शिविरमा सेवा लिन आएका बिरामीमध्ये अधिकांश महिलामा आङ खस्ने र महिनाबारीको समस्या एवं आमरूपमा पित्तथैली र मिर्गौलामा पत्थरी (ढुङ्गा) को समस्या, हर्निया, हाइड्रोसील, रक्तचाप, मधुमेह, पेटसम्बन्धी र हाडजोर्नीका समस्या धेरै पाइएको डा थापाले बताउनुभयो ।
महोत्तरीको सुदूरपश्चिम दक्षिणी भेगको खखना भारतसँग सीमा जोडिएको ग्रामीण बस्ती हो । यहाँ सञ्चालित शिविरबाट जिल्लाका अतिविपन्न, दलित र राम्रो स्वास्थ्य उपचार नपाएर वर्षौदेखि स्वास्थ्यसम्बन्धी समस्या झेल्दै आएका बिरामीले सेवा पाएका महोत्तरी–४ सांसद डा सुरेन्द्र यादवले बताउनुभयो ।
शिविरमा नेपाली सेनाका चिकित्सक, सेनाका जवान र टोलीमा खटिएका अन्यको सेवाभावबारे सकारात्मक सन्देश फैलँदा टाढा–टाढाबाट बिरामी आउने गरेका शिविर व्यवस्थापन समितिका सदस्य एवं सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवको भनाइ थियो ।
शिविर सञ्चालनकै बीच सेनाका दक्ष चिकित्सकको टोलीले सोनमा–७ को मुसहर र डोम समुदायको बस्तीमै गएर स्वास्थ्य जाँच तथा उपचार सेवा दिएको छ । दलित बस्तीमा स्वास्थ्य जाँच गरिएका दुई हजार ५०० मध्ये २५० जनालाई शिविरमा ल्याएर थप जाँच र उपचार गरिएको डा थापाले बताउनुभयो ।
सेनाको टोलीले घरघरै पुगेर उपचार सेवा दिएपछि बल्ल आफूहरुलाई हेर्ने पनि कोही रहेछन् भन्ने लागेको दलित बस्तीकी भुठ्ठी सादा मुसहरको भनाइ छ । यसैबीच सेनाको टोलीले सोनमा गाउँपालिकाका सबै बस्तीमा डेङ्गुको समस्या आउन नदिन विषादी छरेको छ ।
आफ्नो शिविरको तालिकाभित्रको काम नभए पनि आफ्नै प्रयत्नले पनि डेङ्गु आउन नदिन पूर्वसजगता अपनाइन सकिने सन्देश प्रवाह गर्न यो थप काम गरिएको शिविरका लागि सेनाबाट सूचना अधिकारी नियुक्त हुनुभएका सेनानी नवीन कुँवरले बताउनुभयो ।