बागलुङ ,पुस ५ – बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् ।कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रु १२ लाखको कारोबार हुन्छ ।
एउटा अण्डाको मुल्य रु दश पर्छ । एक पेटी अण्डा रु दुई हजार १०० मा बिक्री हुन्छ । “महिनामा चार लाखभन्दा बढी कमाई छ, लगानीअनुसार त यो थोरै हो”, ‘फार्म’का सञ्चालक प्रकाश सुवेदी रखालले भने । आम्दानीको झण्डै रु आठ लाख दाना र कर्मचारीको तलबमा जान्छ । फार्ममा चार कर्मचारी काम गर्छन् ।
रखालले ‘पोल्ट्री फार्म’ व्यवसाय शुरु गरेको तीन वर्ष बित्यो । उनका अनुसार हाल लगानी बढेर रु एक करोड ८० लाख पुगेको छ । रखालले फार्मकै लागि १२ रोपनी जग्गा जोडेका छन् । शुरुमा उनले एक हजार कुखुराबाट व्यवसाय शुरु गरेका थिए । दोस्रो वर्ष दुई हजार २०० कुखुरा थपेका छन्
यो वर्ष गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त रु नौ लाख अनुदानबाट एक हजार ५०० कुखुरा थपेको रखालको भनाइ छ । फार्ममा उत्पादित अण्डा धवलागिरि क्षेत्रका बजारमा पुग्छ । “मुस्ताङसम्म हाम्रो अण्डा जान्छ”, रखालले भने, “कहिलेकाहीँ बजार खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ ।”
फार्मको लक्ष्य वार्षिक नौ लाख गोटा अण्डा उत्पादन गर्नेछ । उत्पादन बढ्दा वार्षिक रु ४१ लाख आम्दानी पुग्ने देखिन्छ । “व्यवसायलाई विस्तार गर्ने सोचमा छौँ, थप अनुदानलगायत प्राविधिक सहयोगको खाँचो छ”, रखालले भने । पोल्ट्री फार्मले चर्चेको पाँच रोपनीबाहेकको जग्गामा व्यावसायिक तरकारी खेती शुरु गरिएको छ ।
तरकारी खेतीका लागि सिँचाइको अभाव झेल्नुपरेको रखालका दाजु कृष्णप्रसादले बताए । “पाँचवटा टनेलमा गोलभेँडा, आलु लगाएका छौँ”, उनले भने , “जग्गा, मल जति पनि छ, बरु पानीकै समस्या छ ।” सिँचाइका लागि कतैबाट अनुदान पाए ट्याङ्की बनाउने योजना रहेको उनको भनाइ थियो ।
व्यवसायमा रखाल दाजुभाइ नै आबद्ध छन् । परिवारका सदस्यले पनि उत्तिकै सघाउँछन् । बागलुङ सदरमुकाममा सौर्य ऊर्जासम्बन्धी व्यवसाय गर्दै आएका कृष्णप्रसाद गाउँ फर्केर कृषि उद्यममा लागेका हुन् । उनका भाइ प्रकाश पनि विगत १२ वर्षदेखि पैयुँपाटामै व्यवसाय गर्दै आएका छन् ।
“पहिले म भिडियो र फोटोग्राफीको काम गर्थे, अहिले यता छु, रेमिट्यान्स व्यवसाय पनि छ”, प्रकाशले भने । स्वदेशमै उद्यमी बन्ने सोचले व्यवसायतिर लागेको उनको भनाइ थियो । सरकारको युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एभरेष्ट बैंकमार्फत रु एक करोड सहुलियत दरको कृषि कर्जा पाएपछि रखाल दाजुभाइको व्यावसायिक योजनाले मूर्त रुप लिएको हो ।
उक्त कार्यक्रमअन्तर्गत वार्षिक ब्याजको आधा रकम सरकारले बैंकलाई चुक्ता गर्छ । “बैंकले दिएको सहुलियत दरको ऋणले व्यवसाय गर्ने सपना पूरा भयो”, प्रकाशले भने , “सहकारीदेखि वित्तीय सङ्घसंस्थाबाट पनि ठूलो सहयोग मिल्यो ।” गाउँमै ठूलो लगानीमा व्यवसाय शुरु गरेपछि उनलाई स्थानीय उमाकान्त प्रतिष्ठानलगायतका सङ्घसंस्थाले सम्मानसमेत गरेका छन् । पछिल्लो समय ‘पोल्ट्री’ व्यवसाय बढ्दै गएपछि बागलुङ अण्डामा आत्मनिर्भर छ । जिल्लामा दैनिक करिब एक लाख अण्डा उत्पादन भइरहेको व्यवसायी बताउँछन् ।रासस