काठमाडौं, ५ पौष । तालिममा गएका बेला अमेरिकामा लुकेका सशस्त्र प्रहरी बलका तत्कालिन नायव निरीक्षक (सई) उमेश सिलवाल पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले उनलाई बिहीबार ललितपुरबाट पक्राउ गरेको हो ।
२० चैत २०६७ देखि उनी संगठनलाई जानकारी नदिई भागेका थिए । भिआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएका बेला उनी उतै लुकेका हुन् ।
सशस्त्र प्रहरी विशेष अदालतले उनलाई गत वर्ष भदौमा भगौडा मुद्दामा दोषी ठहर गरी तीन वर्ष कैद सजाय सुनाएको थियो । सोही फैसला कार्यान्वायनको क्रममा उनलाई पक्राउ गरी महान्यायधिवक्ता कार्यालयमार्फत कारागार चलान गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी सुरज श्रेष्ठले बताए ।