Logo

पञ्चेबाजामा जम्दै महिला



काठमाडौँ, ६ पुस। टुङ टुङ… पाखुम…पाखुम, टुङ टुङ … झ्याइँ..झ्याइँं’को तालमा ताल दिँदै सहनाइको सुरिलो लय त्यसपछि ढोलकी, ट्याम्कोे, दमाहा, नरसिङ्गालगायतका बाजा बजाउँदै गरेका महिलाको समूह देख्दा माहोल नै रमणीय हुन्छ ।
आकाशतिर फर्काएर अर्नाका सिंह आकारका नरसिङ्गा तुतु… धुतु… धुई…इ गर्ने महिला देखेर सबै छक्क नै पर्ने गर्छन् । नेपाली समाजमा प्रायः बाजा बजाउने पेसामा पुरुष नै अगाडि देखिन्छन् । त्यसमाथि पनि प्रायः दलित समुदाय र त्यसमा पनि दमाई जातिका मानिसको नै वर्चस्व छ । महिलाले बाजा छुन पनि हुन्न भन्नेहरूका लागि उदाहरण बन्न सफल भएको छ– महिला नौमती बाजा समूह । बिहेको लगनको महिना महिला समूहलाई बाजा बजाउने काममा भ्याइ नभ्याइ हुन्छ ।

समूहका अध्यक्ष जानुका पौडेलले भने, ‘‘केही आर्थिक उपार्जन गरी आत्मनिर्भर हुने विकल्पको खोजीमा बाजा बजाउन सुरु गरेका हौंैँ, अहिले यही कामको चापले भ्याइ नभ्याइ छ, ३५ देखि ४८ वर्षसम्मका महिलाको बाजा बजाउने यो समूहमा ब्राह्मण, क्षेत्री, नेवार, तामाङ जातिमा महिला सम्मिलित छन् ।’’ पौडेलका अनुसार, ११÷११ जनाको दुईवटा समूह छौँ, यसले नभ्याएर अब देशैभर शाखा खोल्नुपर्ने अवस्था आएको छ । विवाहमा बाजा बजाउन नयाँ नयाँ घरमा जाँदा महिलाले बाजा बजाएको देखेर अधिकांश मानिसले अनौठो मान्ने र खुसी हुने गरेको उनले बताए। ‘‘बाजा बजाउने निम्ता आउँदा हामीलाई पनि आफ्नो तयारी गर्न खुब रमाइलो लाग्छ”, सहनाई बोकेर बस्नुभएकी इन्दिरा श्रेष्ठले भने, ‘‘घर परिवारबाट राम्रो सहयोग पाएकाले बाजा बजाउन सक्ने भएका छौँ । ” ‘‘पहिला पहिला महिलाले बाजा छुन पनि हुँदैन भन्थे’’, गोरखाकी ज्ञानु बरालले बीचैमा कुरा काट्दै भने, ‘‘अहिले त हामीले बजाएको बाजाले सबैलाई मोहित बनाएका छौँ । ” कतिपय ठाउँमा बाजा बजाउने दलित नै होला पनि भन्छन् अध्यक्ष पौडेलले अनुभव सुनाउँदै भने, क्षेत्री, ब्राह्मण, दमाई, कामी सबै मिसिएर आएका छौँ भनेपछि ए… क्षेत्री बाहुन पनि पो भन्दै छक्क पर्छन् ।

दलित समुदायलाई संस्कारका हिसाबले बाजा बजाउन त्यति समस्या नभए पनि कतिपय ब्राह्मण, क्षेत्रीका परिवारबाट आएका दिदी बहिनीले भने घरमा ठूलै सङ्घर्ष गर्नुपरेको उनीहरूको अनुभव छ । आफूमा इच्छाशक्ति भए परिवारको विरोधले केही गर्न नसक्ने उनीहरू बताउछन् । आर्थिक उपार्जन गर्ने सोचले बाजा बजाउने अभियान थाल्दा प्रायःले मादक पदार्थ सेवन गरेर जिउ तताएपछि मात्रै बज्छ पनि भन्थेँ तर होइन रहेछ, पानीको बलमा पनि बजाउन सकिँदो रहेछ’’ पौडेलले भने, महिला भएकाले बल पुग्दैन भन्ने पनि थिए । हामीले गरेर देखाइदियौँ, अलिकता मिहिनेत ग¥यो भने सकिने रहेछ ।’’

विवाहमा सबैभन्दा धेरै मङ्गलधुनको प्रयोग हुने गर्छ । सो समूहका सहनाई बजाउँने गरेको गीता थापाले भने, बेहुलाको घरमा जाने बित्तिकै मङ्गलधुन, दुलाहा निकाल्ने बेलामा, दुलहीको घरमा पुगेपछि, सिन्दूर हाल्ने, गोडा धुने, कन्यादान गर्ने बेलामा र दुलही अन्माउँदा, भिœयाउँदा मङ्गलधुन बढी प्रयोग हुन्छ । अनि बिदाइ गर्ने बेलामा ख्याली झ्याली, नरसिङ्गा, ढोलकी र सहनाई नै प्रयोग हुन्छ ।’ बाजा बजाउन धेरै ठाउँ पुग्नुपर्ने र ठाउँ पिच्छे फरक–फरक अनुभव सङ्गालेको छ महिला नौमती बाजा समूहले । ‘‘कुनै ठाउँमा त बेहुलीलाई अन्माउँदा बेहुला नै रुन्छन्”, भक्तपुरकी अम्बिका परियारले हाँस्दै भने, बेहुलासम्म रुने माहोल बनेपछि हामी नरुने त कुरै भएन नि तर बाजा बजाउने जिम्मा भएकाले हामीहरू आँसु लुकाउँछौँ ।”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्