Logo

‘चेन अफ कमान्ड’ तोडेको भन्दै अध्यक्ष दाहाल आक्रोशित



काठमाडौं, पुस ६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी बैठक चलिरहेकै बेला केही सदस्य र मन्त्रीले शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक विमर्श गरेकोप्रति अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्।

स्थायी कमिटीको शनिबारको बैठक सुरु हुनुअघि राष्ट्रपति भण्डारीले कमिटीका केही सदस्य र मन्त्रीलाई निवासमा बोलाएर बैठकमा उठेका र अन्य केही विषयमा जानकारी लिएकी थिइन्। उनीहरूले ‘चेन अफ कमान्ड’ तोडेर राष्ट्रपतिसँग राजनीतिक विषयमा छलफल गरेको भन्दै अध्यक्ष दाहालले आपत्ति जनाएका हुन्। स्थायी कमिटी बैठक एक सातादेखि जारी छ।

दाहालले स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपतिलाई भेट्न जानुको कारण सोेधेका थिए। उनले शनिबार स्थायी कमिटी बैठक सुरु भएलगत्तै राष्ट्रपति निवासमा भएको छलफलको विषय उठाउँदै असन्तुष्टि पोखेका थिए। त्यसपछि अन्य नेताहरूले पनि राष्ट्रपति निवासमा को–को जानुभएको हो भन्दै जानकारी मागेका थिए।

स्रोतका अनुसार राष्ट्रपति निवासमा नेकपाका नेताहरू सुरेन्द्र पाण्डे, देव गुरुङ, शंकर पोखरेल, जनार्दन शर्मा, प्रदीप ज्ञवाली, शक्ति बस्नेत, वर्षमान पुन, घनश्याम भुसाल, विष्णु रिमाल गएका थिए। यस विषयमा पार्टी बैठकमा कुरा उठेपछि परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले ‘राष्ट्रपतिज्यू्ले सामान्य विषयमा छलफल गर्न बोलाउनुभएको रहेछ’ भनेर कूटनीतिक जवाफ दिएका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्