काठमाडौँ, ६ पुस । झ्याडीखोला छेउ एक लहरमा चिटिक्क परेका सामूहिक घर देखिन्छन् । फिक्का रातो र सेतो रङले पोतिएको एकैखालका आवास हेर्दा कुनै भव्य नगरीजस्तो प्रतीत हुन्छ । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीटोलको घना जंगलबीच छ, यो बस्ती । श्वेता फाउन्डेसनको समन्वयमा माझी परिवारका लागि ठड्याइएको ५३ घरधुरीमा पुग्ने जोकोहीले पनि फूलमालासहित माझी भाषामै न्यानो स्वागत पाइहाल्छन्, ‘ताहरूलाई नगर स्वागत आछु तपाईंहरूलाई माझी नगरीमा स्वागत छ ।’
माझी बस्ती ०७२ को भूकम्पले ध्वस्त बनायो । एक वृद्धासहित दर्जनौं घाइते भए । तीन वर्ष थोत्रो टहरामा रातदिन बिताएका माझी परिवार चार वर्षपछि एकीकृत बस्ती पाउँदा निकै हर्षित छन् । चौतारा साँगाचोकगढी–१४ की मैया माझीलाई बस्ती देख्दा सपनाजस्तै लाग्छ । पुरानो घरजस्तो परम्परागत बुइँगल र सबै मिलेको नभए पनि भूकम्पप्रतिरोधी घर पाउँदा उनी दंग छिन् । २८ रोपनी क्षेत्रफलमा बसाइएको बस्तीमा तीन आनामा एउटा घर बनेको छ । घरपिच्छे तीन कोठा र एक शौचालय छ । ‘परम्परागत माटो–ढुंगाजत्तिकै न्यानो त कहाँ हुन्थ्यो र तर, हेर्दा निकै आकर्षक देखिन्छ,’ माझीले भनिन् । अभिनेत्री श्वेता खड्काले दिवंगत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेता श्री फाउन्डेसनबाट नमुना बस्ती बनाउने घोषणा गरेकी थिइन् । ०७४ जेठ १५ बाट स्थानीय माझीहरूकै समितिबाट थालिएको बस्ती निर्माण आवास अनुदान, सडक अवरोधलगायत समस्याले लामो समय अलमलियो । अभिनेत्री खड्काबाट ४० लाख र उक्त फाउन्डेसनको २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने सर्तमा चालु पुँजीको रूपमा परिचालन गरिएको फाउन्डेसनका प्राविधिक निराजन सापकोटाले बताए ।
अहिले यहाँ बालबगैंचा, सामुदायिक भवन, वाटर फाउन्टेन, स्वास्थ्य चौकीलगायचका संरचना बनाइँदै छ । ‘दायाँबायाँ पर्खाल र सडक निर्माणको काम भइरहेको छ । बनिसकेको बस्ती बीचबाट धमाधम कच्ची सडक छिचोलिँदै छ,’ झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझीले भने । उनका अनुसार केही दसैंको फूलपातीका दिन नयाँ घर सरेका छन्, कोही घरको भित्री संरचना सक्ने पर्खाइमा छन् । दुई घरबाहेक अन्यको भित्री संरचना तयार भइसकेको अध्यक्ष माझीले बताए । यहाँको उपभोक्ता समितिले प्रत्येक घर बनाउने जिम्मा लिएको थियो । जसमा केही गाउँलेले काम गरिरहेका छन् । माटो ढुंगाको घर मन पराए पनि अहिलेको घर सुरक्षित हुने माझी परिवारको बुझाइ छ ।
कान्तिपुर दैनिकबाट