काठमाडौं, ६ पौष । कोकिन कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको नेपाल कनेक्शन पत्ता लागेको छ । बोलिभियाली महिलालाई गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि जालो पत्ता लगाउन प्रहरी सफल भएको हो ।
राहदानी नम्बर सिइ २८०७२ वाहक ४१ वर्षीया हरेरा आरटिगा ओल्गाबाट तीन केजी कोकिन फेला परेपछि अन्य कारोबारीबारे सूचना मिलेपछि प्रहरीले जालो तोडेको हो । त्यसपछि प्रहरीले चारजना विदेशी कारोबारीलाई पक्राउ गरिसकेको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संयुक्त टोलीले चारजनालाई छ किलो कोकिनसहित पक्राउ गरेको हो ।
विमानस्थलबाट दुईजना पक्राउ परेपछि उनीहरुकै सूचनाका आधारमा दुईजनालाई ठमेलबाट पक्राउ गरिएको हो । कोकिन कारोबारीको पक्राउसँगै प्रहरीले अन्तर्राष्ट्रिय जालोको नेपाल कनेक्शन तोड्न सफल भएको छ ।
बोलिभियाली नागरिक फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी थिइन् । उनको सुटकेशबाट कोकिन बरामद भएको थियो । त्यसपछि अन्य कारोबारी समेत पक्राउ परे । Symbolic Photo