Logo

बागलुङ जिल्लामा घरेलु हिंसा बढ्दै



गलकोट, ६ पुस : बागलुङ जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शनिबार यहाँ सार्वजनिक गरेको तथ्याङ्कले जिल्लामा गत वर्षको तुलनामा दोब्बरले मानवअधिकार उल्लङ्घन तथा घरेलु हिंसालगायतका घटना वृद्धि हुँदै गएको जनाएको छ ।

सन् २०१९ को ११ महिने अवधिमा १०५ मानवअधिकार उल्लङ्घनका घटना घटेको इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले जानकारी दिए । गत वर्ष सन् २०१८ मा जम्मा ५७ घरेलु हिंसाका घटना घटेकामा यसवर्ष झण्डै दोब्बरले वृद्धि भएको हो ।

पीडितहरु न्यायको पहुँचमा हुनु र हिंसाविरुद्ध सचेतनामूलक अभियान सञ्चालन हुनुले घरेलु तथा मानवअधिकार उल्लङ्घनका घटना बाहिर आउन थालेको उनले जानकारी दिए ।

यस अवधिमा घरेलु हिंसाका ४६, यौन दुव्र्यवहार आठ, जबर्जस्ती करणी नौ, जबर्जस्ती करणी पाँच, नागरिक तथा राजनीतिक अधिकार ११, धम्की तथा कुटपिट राज्य पक्षबाट एक, बालअधिकार÷शैक्षिक संस्थामा कुटपिट तीन, जातिय विभेद एक, बहुविवाह सात, महिला अधिकार-गोली प्रहार–घरेलु हतियार चार, मानव बेचबिखन तथा ओसारपसार एक, आत्महत्या दुरुत्साहन÷शङ्कास्पद मृत्यु चार र सम्पत्ति क्षति पाँच गरी १०५ घटना घटेको प्रतिवेदनले जनाएको छ ।

इन्सेक बागलुङले मानवअधिकार वर्ष पुस्तक सन् २०२० का लागि सङ्कलन गरेको घटनाको पूर्वसमीक्षा कार्यक्रममा मानवअधिकार उल्लङ्घनका घटना वृद्धि हुँदै गएकामा सरोकारवालाले चिन्तासमेत व्यक्त गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष काजी गाउँले श्रेष्ठ, सुरक्षकर्मी र सञ्चारकर्मीले मानवअधिकारसम्बन्धी विषय गम्भीर भएको भन्दै यसप्रति सबै गम्भीर हुनुपर्ने धारण व्यक्त गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्