काठमाडौं, ६ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र अमेरिकी विकास परियोजना मीलिेनियम च्यालेन्स कर्पोरेशन एमसीसी को विषयले दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विवाद बढेको छ । सत्तारुढ दल नेकपाका अध्यक्षको एमसीसीबारे फरक धारणाले सिंगो स्थायी कमिटि नै ध्रवीकृत भएको छ ।
प्रचण्डले एमसीसीलाई तत्काल संसदबाट पारित गर्न नहुने पक्ष लिएका छन् । उनी निकटस्थ नेताहरुले पनि यही धारलाई अँगालेर धारणा राखिरहेका छन् । स्थायी कमिटि सदस्य लिलामणि पोखरेलले एमसीसी अमेरिकाको विकास परियोजनाभन्दा पनि सैन्य उद्देश्यले प्रेरित रहेकाले रोक्नुपर्ने धारणा राखेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिका पुगी सम्झौता गरेर गल्ती गरेको बताए ।
एमसीसीको विरोधमा पूर्व माओवादी नेताहरु देखिएका छन् । स्थायी कमिटि सदस्य समेत रहेका प्रमुख सचेतक देव गुरुङले एमसीसीको विपक्षमा धारणा राख्दै आएका छन् । उनले यसलाई अमेरिकाको सैन्य रणनीति अन्र्तगत भन्दै आएका छन् ।
एमसीसी सैन्य रणनीति नभएको अमेरिकाले प्रष्ट पारेको छ । यसलाई विकास साझेदार अन्र्तगत भनेको छ । अमेरिकी राजदूत रेन्डी बेरीले भिडियो सन्देशमार्फत् एमसीसीबारे प्रष्ट पारिसकेका छन् । तर, नेकपाभित्र पूर्व माओवादी पक्षधर एमसीसी शर्तसहित भए मान्य नहुने पक्षमा छ । यसले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षबीच टकराव देखिएको छ ।
एमसीसी संसदबाट पारित गर्नुपर्ने भएकाले विगतमा रोकिएको थियो । तत्कालिन सभामुख कृष्णबहादुर महराले यसलाई रोकेको खुलासा प्रधानमन्त्री ओली स्वयंले गरेका छन् । महराले गल्ती गरेको ओलीको भनाई थियो । महराको पालामा रोकिएको एमसीसी रोक्न सत्तारुढ दलभित्रबाटै पूर्व माओवादी पक्षधर सक्रिय भएका छन् । यसले नेकपाभित्रको राजनीतिमा समेत नयाँ तरंग आएको छ ।-File Photo