Logo

भ्रष्टाचार बढेको बढ्यै, ठूला काण्ड ओझेलमा



काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा परीक्षण कार्यालबीच टकराव देखिएको छ । भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने दुई निकायबीच समन्वयको अभाव देखिएको हो । निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको लेखापरीक्षण कार्यालयको ठहर छ भने लेखा परीक्षकका कारण बेथिती मौलाएको अख्तियारको आरोप छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सय ६ वटा मुद्दा दर्ता गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष दर्ता भएको मुद्दा संख्या बढी हो । विगतका वर्षको तुलनामा यो वर्ष मुद्दा अनुसन्धान र स्टिङ अपरेसनलाई व्यापक र प्रभावकारी बनाइने आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले बताएका छन् ।

इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा घिमिरेले सबैभन्दा बढि भ्रष्टाचार स्थानीय तहमा हुने गरेको बताए । घिमिरेले लेखापरीक्षकहरुका कारण भ्रष्टाचार बढ्दै गएको पनि आरोप लगाएका छन् । उनले लेखापरीक्षकहरुले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको जिकिर गरेका हुन् ।

भ्रष्टाचारसम्बन्धी छानविन गर्ने निकाय अख्तियार भएकाले यो संस्थाबाट धेरै अपेक्षा गरिएको हुन्छ । तर अख्तियारले ठूला भ्रष्टाचारका काण्डलाई प्रभावकारी ढंगले अनुसन्धान गरेको पाइदैन । वाइडबडी जहाज खरिद होस वा वालुवाटारको सार्वजनिक जग्गा प्रकरण, यि घटनाको अनुसन्धान अख्तियारले गरिरहेको छ । तर ठूला दलका शीर्ष नेता नै भ्रष्टाचारमा मुछिएका छन् । जसले गर्दा अनुसन्धान प्रभावित भएको धेरैको आशंका छ ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता डा. रामशरण महतको कुरा पत्याउने हो भने केपी ओली नेतृत्वको सरकार बनेपछि भ्रष्टाचार थप मौलाएको छ । भ्रस्टाचार निर्मुल पार्नको लागि दक्ष कर्मचारी, छानबिन समितिमा पारदर्शीता हुनुपर्ने महतको सुझाब छ । साथै नेपालको न्यायपालिका पनि पारदर्शी र शुद्ध हुन नसकेको महतको आरोप छ ।

महालेखापरीक्षक टंकमणि शर्माले पनि निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए । यो वर्ष १ सय २३ दिनमा २ सय ६ मुद्दा दर्ता भएको अख्तियारले जाएको छ । सो अवधिमा ९६ वटा स्टिङ अपरेसन गरिएको छ । त्यसैगरी करिब १६ सय वटा उजुरीको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ । तर ठूला भ्रष्टाचारका काण्डको छानविन भने फितलो देखिने गरेको छ ।

नेपालमा भ्रष्टाचार धेरै हुने गरेकै कारण राजनीतिक दल, नेता, मन्त्री र कर्मचारीहरु बदनाम हुँदै आएका छन् । भ्रष्टाचारककै कारण देश विकास हुन सकेको छैन । यि सबै नकारात्मक पाटोलाई सुधार गर्ने हो भने भ्रष्टाचार नियन्त्रण भइ देश विकासमा सहज हुने थियो की ?



प्रतिक्रिया दिनुहोस्