Logo

नेपाली कांग्रेसको महाधिवेशन २०७७ फागुनभित्र, पुस १० गते केन्द्रीय समिति



काठमाण्डौ । मूख्य विपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशन २०७७ फागुनभित्र गर्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षविचको विवाद हल गर्ने जिम्मेवारी पाएका नेताहरुको मध्यस्ततामा भएको छलफलमा यस्तो सहमति भएको हो । दुवै पक्ष २०७७ फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा पुगेका छन् ।

विवाद हल गर्ने जिम्मेवारी पाएका वार्ता समितिका संयोजक उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच अर्को वर्ष फागुनसम्म महाधिवेशन गरिसक्ने गरी अघि बढ्ने सहमति भएको हो । सभापति शेरबहादुर देउवाले निधि र बरिष्ठ नेता पौडेलले सिंहलाई विवाद समाधानका लागि वार्ता गर्ने जिम्मेवारी दिएपछि पटकपटक वार्ता भए पनि अहिलेसम्म ठोस सहमति बन्न सकेको थिएन । सिंह निवास चाक्सीबारीमा आइतबार भएको नेताहरुको बैठकमा भने अर्कोबर्षको फागुनभित्रै महाधिवेशन गर्ने सहमतिमा बनेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

यसअघि सभापति देउवा अहिले नै महाधिवेशनको कार्यतालिका जारी गर्ने पक्षमा नदेखिएपछि पौडेलले लगातार पाँच दिन केन्द्रीय समिति बैठक बहिष्कार गरेर दवाव दिएका थिए । देउवा पक्षपनि महाधिवेशन गर्न सहमत भएको तर पौडेल पक्षले मंसिरमै हुनुपर्छ भन्ने पक्षमा रहेका छन् । सभापति देउवा पक्षले पार्टीको संघीय विधानअनुसार सबै निकायमा समायोजन नसकिएको दाबी गर्दै अहिले महाधिवेशनको कार्यतालिका बनाउन नसकिने बताउने गरेको थियो ।

कांग्रेसले प्रदेशबाहेक पार्टीका अरू निकायमा सहमतिमै अन्तरिम संरचना तयार गर्ने सहमति गरेको थियो । दुई साताअघि सभापति देउवाले पौडेल पक्षको बहिष्कारकाबीच ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन् । २८ विभागलाई बृद्धि गरी ४१ पु¥याउने र ती विभाग पूर्णता दिने मुख्य एजेन्डा छ । पौडेल पक्षले विभाग बढाउनु विधान विपरीत हुने बताएको छ । सभापतिले निर्वाचित भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग चार वर्षसम्म गठन नगरेको र अहिले महाधिवेशनलाई प्रभाव पार्ने गरी गठन गर्न खोजेको पनि पौडेल पक्षको आरोप छ ।

नेविसंघमा ११ औं महाधिवेशन गराउने नेतृत्वसहित कार्यसमिति बनाउने कि तीन वर्षे कार्यकाल नै भएको समिति बनाउने भन्नेमा विवाद कायमै छ । यस्तै कात्तिकमा कार्यकाल सकिएको जीतजंग बस्नेत नेतृत्वको तरूण दललाई नै अझै छ महिना निरन्तरता दिने प्रस्ताव देउवाले केन्द्रीय समितिमा प्रस्ताव लगिसकेका छन् । यी समग्र विषयमा पुस १० गते बस्ने केन्द्रीय समितिमा छलफल हुनेछ । गत शुक्रबार सहमति खोज्ने भन्दै बैठक स्थगित गरेपछि नेताहरूले सहमतिका पहल गरिराखेका छन् ।

सभापति देउवाको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । विधानमै भएको व्यवस्थाअनुसार केन्द्रीय समिति बैठकबाट पारित गराएर देउवा एक वर्ष कार्यकाल थप्ने पक्षमा छन् । महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्न सभापति देउवा सहमत भए कार्यकाल थप गर्न पौडेल पक्ष पनि सहमत देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्