Logo

तराईमा पनि स्ट्रबेरी



काठमाडौँ, ७ पुस । तराईमा स्ट्रबेरी खेती सुन्दा अचम्म लाग्नसक्छ तर रुपन्देही, भैरहवामा एक जनाले स्ट्रबेरी खेती सुरु गरेका छन् ।

लुम्बिनी एग्रो फार्मका प्रमुख आशा गुरुङले रोपेको बिरुवामा अहिले स्ट्रबेरी लटरम्म फलेको छ । गत वर्ष परीक्षणका रूपमा लगाइएको स्ट्रबेरीले सन्तोषजनक उत्पादन दिन थालेपछि यस वर्ष व्यावसायिक रूपमा खेती सुरु गरेको गुरुङले बताए। युरोपमा उत्पादन भएको र यहाँ उत्पादन भएको स्ट्रबेरीको फलको रङ, आकार र स्वादमा कुनै फरक नरहेको उनले बताए। लुम्बिनी अर्गानिक फार्मले यस वर्षको पहिलो मौसममा चार हजार पाँच सय स्ट्रबेरीका बिरुवा रोपेको गुरुङले बताए । आफ्नै ठाउँको उत्पादन त्यसमा पनि अर्गानिक स्ट्रबेरी पाउँदा भैरहवावासीले ताजा फलको स्वाद पाएका छन् । बिरुवा रोपेको दुई महिनापछि फल दिन सुरु गर्ने स्ट्रबेरीले पाँच महिनासम्म निरन्तर फल दिइरहन्छ । “एक बिरुवाबाट करिब दुई किलोसम्म फल लिन सकिन्छ,” गुरुङले भने। यो मौसममा कम्तीमा आठ टन आठ हजार किलो बराबरको फल फल्ने आशा गरिएको उनले बताए।

स्ट्रबेरी विशेषगरी पहाडी इलाका तथा चिसो ठाउँमा फल्ने फल हो । तराईको जिल्लामा उत्पादन गर्न मुस्किल पर्छ कि भनेर यसअघि परीक्षणका लागि मात्र रोपिएको गुरुङको भनाइ छ । विश्वमा जापानबाट उत्पादन सुरु गरिएको यस फललाई आठ घण्टासम्म नियमित घाम तथा बढीमा १८ डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ । “सुरुआती चरण भएकाले माग अनुसारको पूर्ति गर्न सकिएको छैन, ठूला स्टोरहरूले धेरै माग गरेका छन् भने व्यक्तिगत रूपमा पनि स्ट्रबेरीको माग बढिरहेको छ, दिनमै १५–२० किलोको अर्डर आइरहेको छ,” उनले भने। अहिले बिरुवा भारतको पुनाबाट मगाइएको छ । एउटा बिरुवा खरिद गर्दा १४ रुपियाँ नेपाली परेको छ । आगामी दिनमा भने यसै फार्मबाट बिरुवा उत्पादन गर्ने लक्ष्य छ । यो फलको स्वाद अन्य फलको भन्दा छुट्टै र मिठो हुने भएकाले जो कोहीले पनि यसलाई सजिलै मन पराउन सक्छन् । फार्मबाट उत्पादन सुरु भइसकेको र भैरहवाका विभिन्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल तथा सुपरमार्केटहरूमा पनि यही फर्मको फल पाउन सकिने उनले जानकारी दिए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्