Logo

पढाउन पाए दुर्गा सरले



काठमाडौँ, ७ पुस । शिक्षक सेवा आयोग परीक्षामा सफल भई नियुक्ति पाएका शिक्षक दुर्गा बोमजनलाई विद्यालयमा गएर पढाउन सहज भएन । सीपले सक्षम उनको क्षमतामाथि प्रश्न तेर्साउनेहरू खडा भए । अरू कुराले हैन ह्विलचियरमा बसेकै कारण उनको दक्षतामाथि औंला ठड्याइयो । सकेसम्म विद्यालयमा पढाउन नआउने अवस्था सिर्जना गरियो । तर दुर्गा सर यो बाधा पन्छाउन सफल भएका छन् ।

‘सरकारी शिक्षक’ का रूपमा विद्यालय तोकेर नियुक्त भएको २४ दिनपछि बल्ल सम्बन्धित विद्यालयमा हाजिर गर्न पाएका छन् । तीन दिनअघि मंसिर २९ आइतबारबाट उनले कक्षाकोठामा विद्यार्थीलाई पढाउन थालेका छन् । आफूले पढाउन पाएकामा उनी दंग देखिन्छन् । उनको कक्षामा विद्यार्थी रमाई–रमाई पढिरहेको भेटिए । भरतपुरस्थित चितवन माविको कक्षा ३, ४, ५ र ६ का विद्यार्थीलाई पढाउन उनी पढाउने गरेका छन् । सेवा अयोगबाट आधारभूत तहको स्थायी शिक्षकमा नाम निकालेका दुर्गा बोमजनले मंसिर १ मा नियुक्तिपत्र बुझेका थिए । तर, पत्र बुझेपछि तत्कालै पढाउन त परको कुरा उनले हाजिरसमेत गर्न पाएका थिएनन् । त्यसपछि विभिन्न संघसंस्थाको पहल र भरतपुर महानगरपालिकाको शिक्षा शाखाको सक्रियतामा बोमजनले हाजिर गर्न र पढाउन पाएका छन् ।

‘हामीले उहाँको कार्य क्षमतामाथि प्रश्न उठाएकै हैन । तर विद्यालयको भवन र अन्य संरचनाहरू अपांगता भएका व्यक्तिहरूका लागि अनुकूल छैनन् । उहाँलाई नै गाह्रो हुने अवस्था रहेका कारण त्यसको व्यवस्थापनमा केही दिन समय लागेको हो,’ चितवन माविका प्रधानअध्यापक मुक्ति लामिछानेले भने ।विद्यालयको कार्यालय भवन तेस्रो तलामा छ । बोमजनका लागि तलै हाजिर गर्न पाउने व्यवस्था मिलाइएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्