Logo

माओवादीको त्यो पत्र, एमालेको माक्र्सको तस्बिर झिक्ने कदमदेखि एमसीसीसम्म



रिपोर्टर्स नेपाल, ७ पौष । एमसीसी अर्थात् मिलेनियम च्यालेन्स कर्पोरेशन । अमेरिकी विकास परियोजना एमसीसीलाई नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र इन्डोप्यासिफिक रणनीति अन्र्तगत रहेको तर्क गर्दै विरोध भएको छ ।

जतिसुकै विरोध भएपनि नेकपाले एमसीसी संसदबाट पारित गर्ने पक्षमा निर्णय गर्ने भएको छ । स्थायी कमिटिले अमेरिकाले एमसीसी इन्डो प्यासिफिक रणनीतिक अन्र्तगत नभएको प्रष्ट पार्नुपर्ने भन्दै घुमाउरो तरिकाले यसको पक्ष लिने संकेत गरेको छ । नेकपाले एमसीसीबारे संसदमा मतदान हुँदा पक्षमा लिने माहोल तयार भइरहेको छ । स्थायी समितिले यसबारे निर्णयको जिम्मा सचिवालयलाई दिइसकेको छ । सचिवालयले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई निर्णय अधिकार दिने निश्चितप्रायः छ । त्यसपछि यसलाई पारित गर्न नेकपा आफै अगाडि बढ्छ ।

अमेरिकाप्रति कम्युनिष्ट पार्टी अनुदार देखिएपनि कम्युनिष्ट सरकारकै पालामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसैवर्ष अमेरिकी समकक्षी माइक पम्पेसँग भेट गरेका थिए । जुन भेट ऐतिहासिक बन्यो । सोही भेटका बखत नेपाल इन्डो प्यासिफिकको महत्वपूर्ण केन्द्र बन्नसक्ने विषय समावेश गरियो ।

कम्युनिष्ट पार्टीभित्र अमेरिकाको विरोध विगतमा पनि नभएको होइन । तत्कालिन माओवादीले अमेरिकालाई साम्राज्यवादी भन्दै आलोचना गथ्र्यो । तर, अमेरिकासँग सम्बन्ध सुधार्न तत्कालिन माओवादी नेता कृष्णबहादुर महराले पत्र लेखेको र त्यसलाई अमेरिकासम्म पुर्याउन डा. केवी रोकायाले भूमिका खेलेको खुलासा भइसकेको छ ।

तत्कालिन नेकपा एमालेले दुई दशक अघि अमेरिकी राजदूतलाई बल्खुस्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाउँदा कार्ल माक्र्सको तस्बिर झिकेकेको विषय चर्चामा आयो । अमेरिकी सरकार कम्युनिष्ट प्रति अनुदार रहेपनि नेपालमा कम्युनिष्ट सत्ताभित्र र बाहिर हुँदा महत्वपूर्ण भेट र सम्बन्ध विकासका कदमहरु चालिएका छन् । यसले उनीहरुको अमेरिकाको विरोध बार्गेनिङ मात्र हो भन्ने विश्लेषण हुनेगरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्