Logo

पानी जहाज ओझेलमा, मिनी पानी जहाजको परीक्षण सम्पन्न



चितवन । ठूला नदीमा पानी जहाज चलाउने प्रधानमन्त्री केपी ओलीको सपना सबै नेपालीको सपना हो । यो सपना कहिले पूरा हुन्छ थाहा छैन, तर मिनि पानी जहाज अर्थात क्रुज सिप भने चल्ने भएको छ । नारायणी नदीमा चलाउनका लागि क्रुज सिप तयार भएको छ । सिपको परीक्षण सफल भएको छ ।

नेपालले पर्यटन वर्ष २०२०मा पर्यटकलाई आर्कषण बनाउने प्रयास गरिरहेको छ । पर्यटन वर्षको पूर्वसन्ध्यामा रहँदा भरतपुर महानगरपालिका वडा नं. १६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा परिक्षण गरिएको हो । फरक र नेपालमा पहिलोपटक आइतबार भरपुर महानगरपालिकामा क्रुज सिप मिनी पानीजहाजको दिउँसो करिब तीन बजे चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को परीक्षण गरिएको थियो । ’क्रुज सिपमा हाल १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुनेछन् । क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ गरिएको थियो ।

उतm क्रुज निर्माण राइनो वाटर इन्टरटेन्मेन्ट प्रा लि र ग्राडुअर मरिन इन्टरनेशनलले गरेको थियो । पहिलाको भन्दा बाहिरी लुक्स राम्रो देखाउने गरी डिजाइन परिवर्तन गर्दा एक करोड लागत र १० टन वजन थपिएको छ । एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो ।

निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड पुग्ने कम्पनीको अनुमान छ । क्रुजमा दुई वटा इञ्जिन छन् । दुवै इञ्जिन एकैपटक चल्दैनन् । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माणाधीन क्रुज सिपमा भारत केरलाका प्राविधिकले काम गरिरहेका छन् ।

क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना गरिएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा १०० जना मानिस अट्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । यहाँ १५ जना उभिन मिल्छ । यहाँ बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट छुट्याइएको छ ।

क्रुजको दुई तलामा सिसा राख्न बाँकी छ । महिला र पुरुषका लागि अलगअलग शौचालय, काउन्टर र बार बनाउने काम अन्तिम चरणमा छ । लाइट राख्ने काम भैरहेको छ भने चालक बस्ने ककपिट तयार भइसकेको छ । क्रुजसिप र रिसोर्ट सञ्चालनका ज्ञानेश्वर सामुदायिक बनले डेढ विगाहा जग्गा २० वर्षका लागि भाडामा दिएको छ ।

प्रधानमन्त्री केपी ओलीले समुद्रमा नेपालकै पानी जहाज चलाउने सपना बाँडेका थिए । केही ठूला नदिमा पनि पानी जहाज संचालन गर्ने घोषणा पनि गर्नुभएको थियो । घोषणालाई साकार पार्न सरकारले पानी जहाज कार्यालय स्थापना पनि गर्यो । तर त्यो कार्यालय अहिले अलपत्र जस्तै छ ।



प्रतिक्रिया दिनुहोस्