Logo

राष्ट्रपति भण्डारी र प्रचण्डबीच मनमुटाव



काठमाडौं, ७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्ध चिसिएको छ । हालै एक साता लामो समय लगाएर सम्पन्न स्थायी कमिटीको बैठक चलिरहँदा आधा दर्जन मन परेका नेताहरुलाई शितलनिवासमा बोलाएर राष्ट्रपति भण्डारीले भोज खुवाएको कुरा एकाएक बैठकमा चर्चाको विषय बन्यो । यो विषयको उजागर बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष दाहालले नै गरेका थिए ।

उनले राष्ट्रपति भण्डारीलाई भेटेर फर्किएका स्थायी कमिटी सदस्यहरुलाई ‘कमरेडहरु किन ढिलो आउनुभयो ?’ भनेर सोधेका थिए । अध्यक्ष दाहाल त्यतिमा मात्रै रोकिएनन् । उनले ‘बैठक चलिरहँदा शितलनिवास नगएको भए राम्रो हुन्थ्यो’ भन्दै व्यंग्य कसेपछि अरु सदस्यहरुले पनि यसबारेमा चासो राखेका थिए ।

राष्ट्रपतिलाई भेट्न जानेमा स्थायी कमिटी सदस्य एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, ऊर्जा मन्त्री वर्षमान पुन, सुरेन्द्र पाण्डे, कृषि मन्त्री घनश्याम भुसाल र जनार्दन शर्मा लगायत थिए । दाहालले स्पष्टीकरण मागेसँगै केही नेताहरूले आत्मालोचना गरेका थिए।

बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले राष्ट्रपतिको अधिकार संविधानले स्पष्ट पारेकाले त्यही अनुसारको मर्यादामा बस्नुपर्ने बताएका थिए ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अध्यक्ष दाहालको कारण आफू विवादमा तानिएको भन्दै राष्ट्रपति भण्डारी रुष्ट बनेकी छिन् । केही समय पहिले अध्यक्षद्धय ओली र दाहाललाई बोलाएर राष्ट्रपति भण्डारीले छलफल गरेकी थिईन् । त्यतिवेला पनि उनको भूमिकालाई लिएर चर्चा तथा परिचर्चा भएको थियो । नेकपाभित्रै राष्ट्रपति भण्डारीको कार्यशैलीलाई लिएर चर्को आलोचना भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot