Logo

लोकसेवा आयोगलाई नियन्त्रण गर्दैनौं : मन्त्री ढकाल



काठमाडौं, ७ पुष । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बदलिएको परिस्थितिमा पनि आयोगले प्राप्त गरिरहेको विश्वासमा कुनै कमी आउन दिनुहुन्न भन्नेमा सरकार पूर्ण सचेत रहेको सुनाए ।

मन्त्री ढकालले भने,“अहिले हाम्रो चुनौती भनेको आयोगले प्राप्त गरिरहेको विश्वसनीयता सातै प्रदेशमा स्थापना हुने आयोगमा पनि लागू हुनुपर्छ भन्नेमा सरकार सचेत छ । आयोगलाई नियन्त्रण गरौँ भन्ने मनसाय सरकारको छैन ।”

राज्यको आर्थिक अनुशासनभित्र रहेर आयोगले स्वतन्त्र ढङ्गबाट काम गर्नुपर्छ भन्नेमा सरकार दृढ रहेको बताउँदै उहाँले संवैधानिक निकायले आ–आफ्नै ढङ्गबाट बजेट तोक्न खोज्ने मनसाय भने उपयुक्त नभएको उल्लेख गरे ।

बैठकमा सांसद रेखा शर्मा, जनार्दन शर्मा, महेश्वरजङ्ग गहतराजलगायतले निष्पक्ष परीक्षा गरी आम जनताको विश्वास कमाएको आयोगले आफ्ना खर्च सरकारलाई देखाउनुपर्छ भन्ने प्रावधान राख्न खोज्दा किन आपत्ति भएको हो भनी प्रश्न गर्दै हामीले भनेको आयोगले नमाने पनि हामी कुरा सुन्न तयार छौँ भने ।

समितिमा केही दिनदेखि उक्त विधेयकमाथि छलफल हुँदै आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अघि बढाइएको उक्त विधेयकका सम्बन्धमा प्रधानमन्त्रीकातर्फबाट मन्त्री ढकाल समितिमा आएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्