Logo

एकाबिहानै बसले लियो छात्राको ज्यान



काठमाडौं, पुस ८ । सुकेधारा बस्ने २१ वर्षीया सृष्टि पन्त सोमबार सबेरै कलेज हिँडिन्। बिहान करिब साढे पाँच बजेतिर उनी सुकेधारा चोक पुगिन्। चक्रपथ सडकखण्ड हुँदै चाबहिलतर्फ जाने क्रममा उनले बाटो पार गर्दै थिइन्।

एक्लै कलेज जाँदै गरेकी उनलाई सुकेधारा चोकनजिकै अचानक बसले ठक्कर दियो। तीव्र गतिमा गुडिरहेको बसले ठक्कर दिएपछि उनी त्यहीं ढलिन्। सडक आसपास हिँडिरहेका पैदलयात्रु र अरु सवारीचालक दुर्घटना देखेर चिच्याउन थाले। नजिक भएका प्रत्यक्षदर्शीले सवारी नम्बर टिपेर प्रहरीलाई फोन गरे।

‘हामी अलि पर थियौं, चिच्याएको आवाज आयो, के रहेछ भनेर नजिक पुग्दा बसले ठक्कर दिएको रहेछ,’ प्रत्यक्षदर्शी भवानी बजगाईंले भनिन्, ‘त्यसपछि बसको अघिपछि भएका सबै सवारीसाधन रोकिए, हामीले प्रहरीलाई खबर ग(यौं।’ उनका अनुसार छ्याङ्ग उज्यालो भइनसकेकाले बसचालक शम्भुबहादुर बम्जन तर्कन खोज्दै थिए। स्मृतिलाई ठक्कर दिएको केही बेरमा स्थानीय र विद्यार्थीले बसलाई घेरा हाले।

गम्भीर घाइते भएकी सृष्टिलाई नजिकैको ओम अस्पताल लगियो। अस्पताल लग्नेबित्तिकै उनको मृत्यु भयो। उनलाई भक्तपुर कमलविनायकदेखि नयाँ बसपार्क चल्ने बा४ख ५९२० नम्बरको बसले चावहिलको पशुपति कलेजमा बिबिएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया सृष्टिलाई ठक्कर दिएको थियो। गोरखा घर भएकी सृष्टिको गत वर्षमात्रै विवाह भएको थियो। उनका पति वैदेशिक रोजगारमा छन्।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्