Logo

राजपा सरकारमा जाने



काठमाडौं, ८ पौष । समाजवादी पार्टी सरकारबाट बाहिरिदै गर्दा राष्ट्रिय जनता पार्टी भित्रने भएको छ । यसको संकेत राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीचको गठबन्धनको सहमतिले गरिसकेको थियो ।

राजेन्द्र महतो राजपा अध्यक्षमण्डलको संयोजक भएलगत्तै एकपछि अर्को आश्चर्यचनक निर्णयहरु भइरहँदा उपसभामुखमा दाबी देखिइसकेको छ । महतो स्वयंले उपसभामुखको दाबेदारी प्रस्तुत गरेका थिए । उपसभामुखमा राजपाबाट महिलालाई लाने र त्यसमा चन्दा चौधरीलाई चयन गर्ने तयारी भइसकेको छ ।

राजपा सरकारमा जाने लगभग निश्चित भइसकेको छ । त्यसका लागि प्रधानमन्त्री ओलीसँग महतोले आन्तरिक सहमति गरिसकेका छन् । समाजवादी पार्टी सरकारबाट बाहिरिनेवित्तिकै प्याकेजमै सहमति हुने गृहकार्य भएको छ । जसअनुसार संविधान संशोधन, सभामुख र उपसभामुखमा एक अर्कालाई सघाउने देखि मन्त्रिमण्डलमा राजपाले पाउने मन्त्री र राज्यमन्त्रीको संख्या समेत हुने बुझिएको छ ।

राजपाका एक नेताका अनुसार सरकारमा जानेबारे छलफल नेताहरुमा चलिसकेको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका कतिपय कदममा राजपाले साथ दिदै आएको छ । सरकारमा गएमा राजेन्द्र महतोकै नेतृत्वमा जाने सम्भावना रहेको बुझिएको छ । त्यसबाहेक राजपाले कम्तिमा दुईवटा मन्त्रालय पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्