Logo

परराष्ट्रमन्त्री ज्ञवालीको दाबी : संसदको यही अधिवेशनमा एमसीसी पारित हुन्छ



काठमाडौं, ९ पुष । अमेरिकी सहयोग एमसीसीको सहयोग लिने सहमति गरिसकेको नेपालले संसदबाट यसलाई अनुमोदन गर्ने विषयमा विवाद उत्पन्न भैरहेको छ । यसलाई संसदबाट पारित गर्न हुने वा नहुने भनेर दलहरुबीच मतभेद देखिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि यसको विषयमा मत बाझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यसलाई जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल यसको विपक्षमा उभिएका छन् ।

यता, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीका विषयमा अनावश्यक शंकामात्र गरिएको भन्दै आफ्नो गुनासो पोखेका छन् । आज बसेको राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा ज्ञवालीले यस्तो धारणा राखेका हुन् । उनले एमसीसीलाई अमेरिकाको इन्डो प्यासिफिक रणनीतिसँग जोड्न आवश्यक नभएको बताए ।

बैठकमा उनले भनेका थिए,‘इन्डो प्यासिफिक रणनीति २०१७ बाट सुरु भएको देखिन्छ तर एमसीसीमा हामीले २०१७ मा सही नै गरिसका थियौं, बनको बाघले खाओस् नखाओस् मनको बाघले खाएको जस्तो देखिन्छ । एमसीसीलाई इन्डो प्यासिफिकसँग जोड्न आवश्यक छैन ।’

उनले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने पनि जिकिर गरे । उनले भने,‘नयाँ सदनमा एमसीसी हुने गरी अगाडि बढाइन्छ । अनुमोदन हुन्छ त्यसमा अलमलिनुपर्दैन।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्