काठमाडौँ, १० पुस। २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ । पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि सो आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको हो । आयोजनाले गत मङ्सिर २१ गतेबाट परीक्षण उत्पादन थालेको थियो ।
आयोजना भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको सो आयोजना २०७३ असार २१ गते भोटेकोसीमा आएको बाढीले ठूलो क्षति भएको थियो । कम्पनीका महाप्रबन्धक विक्रमरत्न स्थापितले आयोजनाले दैनिक २२ देखि २५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको जानकारी दिएको छ । सो आयोजनाको पूर्णक्षमता ४५ मेघावाट हो । हिउँदमा भोटेकोसीको पानीको बहाव घट्ने भएका कारण अहिले आधा मात्रै विद्युत् उत्पादन गरिरहेको महाप्रबन्धक स्थापितले बताए ।
आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुमा रहेको सुनकोसी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि स्थापितले जानकारी दिए । विद्युत् प्राधिकरणले सो हाइड्रोको उपकरण र मेसिन परीक्षण गरी विद्युत् उत्पादन गर्न अनुमति दिएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेको थियो । आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरिएको बताएको छ । उहाँले पुनर्निर्माणमा कुल सात अर्ब पँुजी लागेको जानकारी दिए।
आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले ट्रान्समिसन लाइन बगाएको थियो । सो कारण छ महिना उत्पादन बन्द भएको थियो । सन् २०११ मा विद्युत् खरिद सम्झौता गरी आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ ।
गोरखापत्र दैनिकबाट