Logo

विदेशीलाई भिसामा कडाइ



काठमाडौं, १० पुस । गृह मन्त्रालयले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक प्रवेशाज्ञा अफिसियल भिसा नदिन कन्सुलर सेवा विभागलाई पत्राचार गरेको छ। जथाभावी रूपमा औपचारिक भिसा दिन थालेपछि मन्त्रालयले त्यसलाई रोक्न भनेको हो। गृहले मंसिर दोस्रो साता सचिवस्तरीय निर्णय गरी साधारण राहदानी भए औपचारिक भिसा नदिन विभागलाई भनेको हो। ‘विभागको सिफारिसका आधारमा साधारण राहदानीवाहक काम गर्ने पदाधिकारीलाई तथा तिनका आश्रित परिवारलाई पारस्परिकताका आधारमा निःशुल्क गैरपर्यटकीय भिसा र पारस्परिकताकै आधारमा शुल्क लिएर अध्यागमन विभागबाट गैरपर्यटकीय भिसा जारी गर्ने’, पत्रमा भनिएको छ।

विभागले विभिन्न परियोजनामा काम गर्ने विदेशी र उनीहरूका आश्रित परिवारलाई पनि औपचारिक भिसा दिएको भेटिएको थियो। मन्त्रालयको पत्राचारपछि विभागले साधारण राहदानीवाहक विदेशीलाई औपचारिक भिसा दिन बन्द गरेको छ। विभागका महानिर्देशक डोरनाथ अर्यालले साधारण राहदानीवाहक विदेशीलाई भिसा दिने प्रक्रिया रोकिएको बताए। ‘गृह र परराष्ट्र मन्त्रालयबीच पटक–पटकको छलफलपछि भिसा दिने प्रक्रियालाई सहज बनाइएको छ’, महानिर्देशक अर्यालले अन्नपूर्णसँग भने, ‘क्षेत्राधिकार र कानुनी प्रक्रियामा क्लियर भएका छौं।’

डोलिडार, कोइका, जाइका, यूएस एडअन्तर्गतका विभिन्न परियोजनामा कार्यरत साधारण राहदानीवाहक विदेशीलाई विभागले भिसा दिँदै आएको थियो। साधारण राहदानीवाहकलाई औपचारिक भिसा दिन मिल्दैन। विभागले औपचारिक राहदानी भएका विदेशीका आश्रित परिवारलाई पनि औपचारिक भिसा दिँदै आएको थियो। त्यस्ता विदेशीलाई विभागले सिफारिस गरेर अध्यागमन विभाग पठाउनुपर्ने थियो। गृहको पत्रपछि भने विभागले त्यस्ता विदेशीको भिसाका लागि अध्यागमनमा सिफारिस गर्न थालेको छ। नेपालका लागि आवासीय वा गैरआवासीय कूटनीतिक नियोग, वाणिज्य दूतावासमा काम गर्ने प्रशासनिक, प्राविधिक तथा गैरकूटनीतिक कर्मचारी तथा बाह्य मुलुकबाट नेपाल घुम्न आउने बहालवाला अवैतनिक महावाणिज्यदूत, वाणिज्यदूत र तिनका परिवारले औपचारिक भिसा पाउने व्यवस्था अध्यागमन नियमावलीले गरेको छ। त्यसका लागि औपचारिक राहदानी अनिवार्य हुन्छ।

अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्