काठमाडौँ, १० पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयू सोमबारबाट उपकुलपतिविहीन बनेको छ । रजिस्ट्रार निमित्त छन् भने सेवा आयोग पनि नेतृत्वविहीन छ ।
उपकुलपति उपेन्द्रकुमार कोइरालाको असोज ६ गते पदावधि सकिएपछि त्यसको भोलिपल्ट सरकारले व्यवस्थापन संकायका डिन मस्तबहादुर गरंजालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक रहेका गरंजा एमयूमा काजमा छन् । गरंजाको निमित्त उपकुलपतिको तीनमहिने म्याद सोमबार सकिएको छ ।
निमित्त रजिस्ट्रार यामबहादुर कार्कीले अब अन्योल बढेको बताए । ‘उपकुलपतिजस्तो प्रमुख पद लामो समयसम्म निमित्त र त्यसपछि रिक्त हुँदा महत्त्वपूर्ण नीतिगत कामकाज प्रभावित छन्,’ उनले भने, ‘जेसुकै कारणले भए पनि नियुक्तिमा ढिलाइ हुनु राम्रो होइन, विश्वविद्यालयलाई हानि पुर्याउँछ ।’ सरकारले नियुक्ति प्रक्रिया थाले पनि अवरुद्ध छ । उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय सभा सदस्य उषा झाको संयोजकत्वमा गठित समितिले मंसिर २३ गते तीन जनाको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष पेस गरेको छ । समितिले त्रिविका प्राध्यापक नन्दबहादुर सिंह, काठमाडौं विश्वविद्यालयका प्राध्यापक जनार्दन लामिछाने र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक केशरसिंह रानाको नाम सिफारिस गरेको हो । तीनैजना नेकपानिकट प्राध्यापक हुन् ।
विश्वविद्यालयको प्रमुख प्रशासनिक तथा आर्थिक पदाधिकारी मानिने रजिस्ट्रार पनि एक वर्षदेखि निमित्त छन् । रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई उनीमाथि लागेका आरोप छानबिनका लागि भन्दै ०७५ मंसिर २० मा प्रधानमन्त्रीले निलम्बन गरेका थिए । विश्वविद्यालय ऐनअनुसार छानबिन समितिले ३० दिनभित्र बुझाएको प्रतिवेदन कुलपतिले निर्णयार्थ विश्वविद्यालय सभा ९सिनेट० मा पेस गर्नुपर्छ । समितिले प्रतिवेदन बुझाए पनि साउन ५ को बसेको सिनेट बैठकमा रजिस्ट्रारसँग सम्बन्धित एजेन्डा पेस भएन । मल्लको निलम्बन लम्बिएपछि शिक्षाशास्त्र संकायका डिन कार्कीले निमित्त रजिस्ट्रार चलाइरहेका छन् । सेवा आयोग चार महिनादेखि नेतृत्वविहीन छ । अध्यक्ष राधा शाहको असोज पहिलो साता पदावधि सकिएपछि आयोगमा दुई जना सदस्यमात्र छन् ।
कान्तिपुर दैनिकबाट