Logo

साँघुरा घरमा बस्नु कि सामान राख्नु



काठमाडौँ, १० पुस । निला जस्ता । लस्करै घर । डाँडामा गुजुमुज्ज परेको बस्ती । देखेर सबै लोभिन्छन् । त्यहाँ पुग्दा भने मान्छे भेट्न मुस्किल पर्छ । घर प्रायः सुनसान भेटिन्छन् । अहिले सबैलाई अन्न भित्र्याउने चटारो छ । अन्न फल्ने जग्गा बस्ती नजिक छैन । जुगल गाउँपालिका १ स्थित सेलाङका स्थानीय २ घण्टा टाढा रहेको पुरानो थातथलो धाउन बाध्य छन् । उक्त वडाका सेप गाउँका १९ परिवारलाई घर बनाएर गत असारमा सेलाङ सारिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित माझीटोलमा निर्मित एकीकृत बस्ती । थाई नेपाली एसोसिएसन र रोटरी इन्टरनेसनल डिस्ट्रिक्टले ४६ घर निर्माण गरिदिएको छ । एककोठे भवनमा परिवार नअटेपछि उनीहरूले छुट्टै घर बनाएका छन् । सबैका तीनकोठे घर छन् । ठूलो परिवार साँघुरो घरमा अट्दैनन् । अन्नपात राख्ने त परको कुरा । ‘घरबाट अन्न लगाउने जग्गा टाढा छ,’ सेलाङ एकीकृत बस्तीका अध्यक्ष सोवले तामाङले भने, ‘घरछेउमै जग्गा भइदिएको भए सागसब्जी लगाउन सजिलो हुन्थ्यो ।’ यहाँ बस्ती बसाउन १ करोड ३७ लाख ७५ हजार खर्च भएको उनले जानकारी दिए ।

जग्गा सम्याउने काम गाउँपालिकाले गरिदिएको हो । अक्सफाम नेपालको आर्थिक र ग्रामीण सेवा समितिको व्यवस्थापनमा एकीकृत बस्ती निर्माण गरिएको हो । ‘पहिलाभन्दा अहिले सुरक्षित छौं,’ स्थानीय रिसिङमाया तामाङले भनिन्, ‘तर घर बास बस्नलाई मात्र भयो, अन्नपात अटाउँदैन ।’ केही व्यक्तिले घर छेउमै टहरो बनाएर अन्नपात राखेका छन् । एउटा घर तीन आना क्षेत्रफलमा मात्र बनेको छ । अक्सफामको आर्थिक सहयोगमा बाख्राको खोर निर्माण गरिएको स्थानीयले बताए, जहाँ केही स्थानीयले बाख्रापालन गरेका छन् । आम्दानीको स्रोत केही छैन । कोदो, मकै, धान मात्र उब्जाउ हुन्छ । छुट्टै अन्न लगाउन जग्गा नभएको स्थानीयको गुनासो छ । आफैं उत्पादन गरेको अन्नले वर्ष दिन खान पुग्दैन । छाक टार्न ज्याला मजदुरीको काम गर्नुको विकल्प नभएको स्थानीय बताउँछन् ।

समस्या यो बस्तीको मात्र होइन, जहाँ एकीकृत बस्ती बनाएर भूकम्पपीडितलाई सारिएको छ । त्यहाँ खुसी हुने कमै भेटिन्छन् । घर पाइयो, अन्न लगाउने ठाउँ पाइएन भन्ने सबैको गुनासो छ । केहीले भने परिवार ठूलो भएकाले तीनकोठे घर पर्याप्त नभएको गुनासो गरे । कतिपयमा बाबाआमा नयाँ घर र छोराबुहारी पुरानै टहरोमा बस्दै आएका छन् । केहीले भने एककोठे घर मात्र भएको भन्दै छुट्टै घरसमेत बनाएका छन् । घर बनाउन नसक्नेहरू भने एककोठे घरलाई नै भान्सादेखि सुत्ने प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका १४ स्थित झ्याडीटोलकी लक्ष्मी माझी गएको दसैंमा टहरोबाट नयाँ घरमा सरिन् । उनको ६ जनाको परिवार तीनकोठे घरमा जसोतसो अटाएको छ । नयाँ घर पाएर दंग उनलाई अन्नपात राख्ने ठाउँ नहुँदा भने केही विस्मात छ । ‘पुरानै घर ठीक, यसमा भुइँतलाभन्दा माथि जान पाइएन,’ उनी भन्छिन्, ‘पुरानो घर ठूलो थियो, सबै कुरा तलामा राखिन्थ्यो, यसमा राख्नै नपाइने रहेछ ।’ घर भने बलियो रहेको उनले बताइन् ।

सिंगो गाउँमा ५३ घरको बसोवास छ । एकै प्रकृतिका गुलाबी रङका घरले सबैको ध्यान तान्छ । नायिका श्वेता खड्काले स्थापना गरेको संस्था श्वेताश्री फाउन्डेसनको अगुवाइमा एकीकृत बस्ती निर्माण गरिएको हो । ‘यसमा पुनर्निर्माण प्राधिकरणको साझेदारी र झ्याडीटोल सुधार समितिको सहकार्य छ,’ फाउन्डेसनका प्राविधिक निराजन सापकोटाले भने । अहिले घरको काम सकिएर पूर्वाधार निर्माणको काम भइरहेको उनको भनाइ छ । पहिलो चरणमा पुनर्निर्माण प्राधिकरणबाट बस्ती बनाउन ३ लाख अनुदान प्राप्त भएको थियो । अहिले सरकारबाट १ करोड ३० लाख बराबरको बजेट परेको छ । यसअनुसार बाटो र रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । प्रत्येक घरले ऋणका लागि निवेदन दिएका छन्, जसले ४ लाख रुपैयाँ ऋण पाउनेछन् । अहिलेसम्म २९ घरले ऋण लिएका छन् । फाउन्डेसनले बस्ती निर्माणमा समेत सघाएको छ ।

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्