काठमाडौं, १० पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुखको निर्वाचन प्रक्रिया भोलिबाट सुरु हुँदैछ । तत्कालिन् सभामुख कृष्णबहादुर महरा महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा अहिले प्रहरी हिरासतमा छन् । संसदको ठूलो दलको हैसियतले पनि सभामुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नै पाउनेछ । तर, नेकपाभित्रपनि सभामुखको लागि पूर्व नेकपा एमाले खेमा र पूर्व माओवादी केन्द्र दुवैबाट आकांक्षीहरु देखिएका छन् ।
सभामुखमा नेकपाबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेता अग्निप्रसाद सापकोटा, नेकपा संसदीय दलका प्रमुख सचेतक देव्रसाद गुरुङलगायतको दाबी रहँदै आएको छ । यसअघि सभामुख पूर्व माओवादी केन्द्रको कोटामा परेको थियो । अहिलेपनि पूर्व माओवादी केन्द्रले नै दाबी गरेका छन् ।
पूर्व एमाले खेमामा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका शक्तिशाली पद परेका छन् । त्यही भएर पूर्व माओवादी केन्द्रले सभामुखमा आफ्नो दाबी रहने कुरा स्पष्ट पारेको छ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व एमालेसँग शक्ति सन्तुलन मिलाउनको लागि सभामुख आफूहरुले पाउनुपर्ने दाबी गरेका छन् । उनले आफ्नो तर्फबाट सभामुखमा अग्नि सापकोटाको नाम ओलीसामू प्रस्तुत गरेका छन् ।