काठमाडौं, १० पुस । अब निजामती कर्मचारीहरुको कार्यसम्पादनका आधारमा मात्र बढुवा हुने भएको छ । अब काम नगरी पढेका आधारमा मात्र बढुवा नहुने भएका छन् । सांसदहरुले निजामती सेवाका कर्मचारीहरू लोक सेवामा आन्तरिक प्रतिस्पर्धामा जान पाउने व्यवस्थाले काम छाडेर तयारी गरेको भन्दै रोक्ने तयारी गरेका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको दफा ९ माथि छलफल गर्दै यस्तो व्यवस्था हटाइनुपर्ने बताएका हुन् ।
सांसद पम्फा भुसालले कामभन्दा किताब पढ्नेले महत्व पाउँदा कर्मचारीले काम छाड्ने अवस्था आएको बताइन् । उनले बैठकमा कर्मचारीको आन्तरिक प्रतियोगिता नराखी कार्य सम्पादनका आधारमा बढुवा हुने व्यवस्था राख्नुपर्ने बताएकी थिइन् । यस्तै सांसद बृजेशकुमार गुप्ताले चाकरी गरेर तथा किताब पढेरभन्दा कामको मूल्याङ्कन गरी बढुवा गर्नु पर्नेमा जोड दिए ।
सांसद नवराज सिलवालले पछिल्लो समय पाँच जना सहसचिव पदका लागि आन्तरिक प्रतिस्पर्धा खुल्दा १८ सय कर्मचारीले काम छाडेको बताउँदै सरकारकै तलब खाएर आफ्नो लक्ष्य पूरा गरिरहेको बताए । यस्तो विकृति हटाउनु विधेयकमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हटाउनु पर्ने उनको भनाइ थियो ।
यो प्रावधानप्रति कर्मचारीले भने असन्तुष्टि जनाएका छन् । यसले क्षमतावान कर्मचारी पछि पर्ने उनीहरुको भनाई छ । कार्यसम्पादन मूल्याङकनको पारदर्शी प्रावधान बनाउन नसके निजामतीमा यो प्रणाली गलत पनि हुनसक्ने कतिपयकाे चिन्ता छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई ठूलो औद्योगिक प्रतिष्ठानका रुपमा हेर्ने प्रवृतिले समस्या आउने गरेको बताए । उनले परम्परागत प्रवृतिलाई हेरेर विधेयक बनाउँदा यस्तो समस्या आएको उल्लेख गरेका थिए । यस्तै सोही मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले शाखा अधिकृत पास गरेपछि पाँच वर्षमा आन्तरिक बढुवाको व्यवस्था हुँदा कर्मचारी कामभन्दा पढ्नमा ध्यान दिएकाले नयाँ विधेयक ल्याउनु पर्ने बताए ।
छलफलपछि विधेयकमा राखिएको राजपत्राङ्कित प्रथम श्रेणी र द्वितिय श्रेणीमा आन्तरिक प्रतियोगितातर्फ २० प्रतिशतबाट पदपूर्ति गर्ने व्यवस्थालाई हटाइएको छ । यससँगै निजामती सेवामा कार्यरत कर्मचारीहरु आन्तरिक प्रतियोगिताद्वारा माथिल्लो तहका लागि प्रतिस्पर्धामा जान नपाउने भएका छन् ।