Logo

उखु बेच्दै ऋण बोक्दै



काठमाडौँ, ११ पुस। सर्लाहीको विष्णु गाउँपालिका–२, बहादुरपुरका शशिभूषण सिंहले धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा तीन आर्थिक वर्षदेखि लगातार उखु बिक्री गर्दै आएको छ । उनले बिक्री गरेको उक्त उखुको एक रुपियाँ पनि भुक्तानी पाएको छैन । हामी तीन दाजुभाइले तीन वर्षदेखिको १२ लाख रुपियाँ लिन बाँकी छ, उद्योगमा भुक्तानी माग्न जाँदा कहिल्यै पनि उद्योगी भेटिँदैनन्, सिंहले भने, यो वर्षदेखि धनकौल मिलमा उखु नदिने तयारी गरेका छौँ । उखु बेचेको पैसा वर्षौंसम्म नपाउँदा घर व्यवहार धान्नै मुस्किल परिसकेको छ ।

समयमै उखुको भुक्तानी नपाउँदा साना किसान ऋणमा डुबेका छन् । खेतभरि लगाएको नगदे बाली उखु बिक्री गरेको पैसा नपाउँदा किसानले ऋण गरेरै व्यवहार चलाइरहेका छन् । साहुको ऋण तिर्न खेत नै बेच्नुपर्ने अवस्था आएको छ, सिंहले गुनासो गर्दै भने, किसानलाई हाकाहाकी अन्याय गर्ने उद्योगीलाई सरकारले केही कारबाही गर्न सकेको छैन । हामी किसान निरीह हुनुपरेको छ । उखुको भुक्तानी माग गर्दै किसान धनकौल चिनी उद्योगमा गएर पटकपटक धर्नामा बसेका छन् । बिक्री गरेको उखुको पैसा दिलाइदिन माग गर्दै किसानले सदरमुकाम मलङ्गवामा आएरसमेत प्रदर्शन गर्ने र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनेसमेत गरे । स्थानीय प्रशासनले अन्नपूर्णलाई पटकपटक पत्र नै लेखेर किसानको भुक्तानी गर्न निर्देशन दिएको छ तर प्रायः काठमाडौँमै बस्ने ती उद्योगका मालिकले प्रशासनलाई समेत टेरेका छैनन् । धेरैजसो बिचौलियामार्फत उखु खरिद गर्ने सो उद्योगले किसानको कति भुक्तानी गर्न बाँकी छ रु भन्ने विवरणसमेत छैन । धनकौलका उखु किसान रामविनय रायले समयमै भुक्तानी नपाउने समस्याले आफूले उखु खेतीको विकल्पमा अन्य बाली लगाउन थालेको बताउनुभयो । उखुलाई नगदे बाली भनिन्छ तर तीन÷चार वर्षसम्म नगद नै देख्न पाइँदैन, रायले भन्नुभयो । दुई वर्षसम्म निरन्तर पैसा नपाएपछि मैले उखुको साटो तरकारी र अन्य खेती लगाउन थालेको छु, उहाँको भनाइ छ ।

सर्लाहीका तीन चिनी उद्योगमध्ये इन्दुशङ्करले अहिलेसम्मको सम्पूर्ण भुक्तानी गरिसकेको छ भने अन्नपूर्णले तीन वर्षदेखिको र महालक्ष्मी चिनी उद्योग बगदहले गत वर्षको भुक्तानी गर्न बाँकी छ । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु खेती हुने तराईका सबै जिल्लाका किसानले भुक्तानीमा समस्या झेल्नु परिरहेको बताउनुभयो । देशभरका १४ मध्ये सर्लाहीको अन्नपूर्ण र रौतहटको श्रीराम सुगर मिल किसानको भुक्तानी दिन नसकेर यो वर्ष सञ्चालन हुने अवस्था छैन, मैनालीले भने, अन्य उद्योग भने धमाधम चल्न थालेका छन् ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्