काठमाडौं, ११ पुस । लाइसेन्सको अनियमिततामा उपसचिव र इन्सपेक्टर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । फेल भएकालाई पास भएको भनेर लाइसेन्स दिएको भन्दै आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ ।
यातायात व्यवस्था कार्यालय बुटवलका कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई रिजल्टमा पास भएको भनी निर्णय गरी फेल भएकाहरुको नाममा सवारी चालक अनुमतिपत्र जारी गरी परीक्षाको परिणाम फेरवदल गरेको देखिएको आयोले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले निजहरुलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।