Logo

प्लटिङवालाको धन्दाः एक रोपनी किन्ने, १०औं रोपनी हडप्ने



काठमाडौं,पुस १२। राजधानी काठमाडौंका विभिन्न स्थानमा प्लटिङका नाममा सार्वजनिक जग्गा अतिक्रमणमा परेको पाइएको छ ।

सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको उजुरी छानबिनमा यस्तो तथ्य फेला परेको हो । प्रशासनले राजधानीका विभिन्न स्थानका सार्वजनिक जग्गा कर्मचारी र भूमाफियाको मिलेमतोमा प्लटिङका नाममा अतिक्रमणमा परेको पाइएको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रजिअ जनकराज दाहालकाअनुसार जग्गा प्लटिङ गर्नेहरूले सार्वजनिक जग्गा रहेको स्थान पहिचान गरी त्यसै वरपर केही रोपनी जग्गा किन्ने र समयसँगै सार्वजनिक जग्गा समेत अतिक्रमण गरी प्लटिङ गरी बिक्रिवितरण गर्ने गरेको पाइएको छ ।

छानबिनका क्रममा प्लटिङ गर्नेहरूले एक रोपनी जग्गा किनेर १०औं रोपनीभन्दा बढी जग्गा प्लटिङ गरी अतिक्रमण गरेको पाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए । सार्वजनिक जग्गा प्लटिङ गरी बिक्रीवितरण गर्ने समूहबारे समेत छानबिन गरिने भएको छ ।

सार्वजनिक जग्गालाई व्यक्ति तथा समूहको नाममा बनाउने खेलमा सलंग्न हुने कर्मचारीबारे समेत छानबिन हुने प्रशासनले जनाएको छ ।

सार्वजनिक जग्गा व्यक्तिको बनाएको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत त्यस्तो जग्गा रद्द गरी सार्वजनिक जग्गाकै रूपमा कायम गराउन सरकारलाई निर्देशन दिँदै आएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्