Logo

अर्बौं सम्पत्ति, छैन सदुपयोग



काठमाडौं, पुस १२ । राजधानीको नरदेवीनजिकै रहेको न्होखास्थित कन्या मन्दिर माध्यमिक विद्यालय २८ रोपनी क्षेत्रफलमा फैलिएको छ। राजधानीम महँगो जग्गा भएको ठाउँमध्येमा नरदेवी पनि पर्छ। कुल जग्गामध्ये १६ रोपनीमा विद्यालय सञ्चालन भइरहेको छ। ११ रोपनी क्षेत्रफल स्कुलपरिसरमै रहेको पोखरीले ओगटेको छ।

पाँच सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले दाबी गरे पनि काठमाडौं महानगरपालिका शिक्षा शाखाको तथ्यांकअनुसार यहाँ तीन सयजति मात्रै विद्यार्थी पढ्छन्। सुविधासम्पन्न नयाँ भवन बन्ने क्रममा छ। २०७२ सालको भूकम्पले भत्काएपछि बनेका पुराना संरचना पनि प्रशस्तै छन्। तर, प्रशासनले क्षमताअनुसार विद्यार्थी आकर्षण गराउन मात्र होइन, संरचना जगेर्ना गर्नसमेत सकेको छैन।

विद्यार्थी आकर्षण कसरी बढाउने र विद्यालयको सम्पत्ति कसरी सदुपयोग गर्ने भन्ने विषयमा कुनै निकायसँग स्पष्ट योजना छैन। जसका कारण अर्बौं रुपैयाँ मूल्य पर्ने यस विद्यालयको सम्पत्ति लथालिंग छ। छात्रा मात्रै पढ्ने यो विद्यालयमा विद्यार्थी कम भएकै कारण केही शिक्षक दरबन्दी अन्यत्रै सार्ने तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ।

विद्यालय प्रधानाध्यापक नगेन्द्र विष्ट भन्छन्, ‘सबै स्रोतको सदुपयोग हुने हो भने १५ सयभन्दा पनि बढी विद्यार्थी पढाउन सक्छौं।’ राजधानीमा छात्राका लागि मात्र पढाइ हुने विद्यालयका रूपमा यसलाई विकास गर्न सकिए मात्रै पनि सार्वजनिक शिक्षा सुधारमा ठूलो उपलब्धि हुने महानगरपालिकाका कर्मचारीको बुझाइ छ।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्