धनगढी, १२ पुस : नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ हुने दिन यही पुस १६ गते अर्थात् जनवरी १ लाई यहाँ उत्सवको रूपमा मनाउने तयारी गरिएको छ । प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको बैठकले गरेको निर्णयअनुसार नेपाल भ्रमण वर्ष शुरु हुने आगामी जनवरी १ लाई उत्सवका रूपमा मनाउने तयारी भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए।
सङ्घीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह गर्ने गरी तयारी भइरहको छ । मुख्य समारोह अघि प्रदेशका नौवटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न लागिएको छ । पहिलो दिनलाई उत्सवका रूपमा मनाएर वर्षभरि गरिने पर्यटन गतिविधिलाई अगाडि बढाउने तयारी भएको मन्त्रालयका प्रवक्ता भरतप्रसाद श्रेष्ठले बताए ।
भ्रमण वर्षलाई सफल तुल्याउन प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई बढी महत्व दिइएको छ । यसका लागि भ्रमण वर्षलाई लक्षित गरेर प्रदेशमा भित्रिने पर्यटकको स्वागतका लागि चिसापानी, खक्रौला, त्रिनगर, गड्डाचौकी, झुलाघाटलगायतका सीमानाका र धनगढी विमानस्थलमा स्वागतद्वार निर्माण गर्न लागिएको छ ।
स्वागतद्वारमा प्रदेशका पर्यटकीय गतिविधि र पर्यटन गन्तव्य झल्किने र आवश्यक सूचना दिने खालका पोष्टर र होर्डिङ बोर्डसमेत राख्न लागिएको छ । सञ्चारमाध्यम मार्फत प्रचारप्रसार गर्ने योजना बनाइएको छ । ‘भिजिट नेपाल २०२०’ को लोगोसहित प्रदेशको पर्यटकीय गन्तव्य झल्किने लोगोसमेत अङ्कित ‘स्टीकर’ सार्वजनिक यातायातका साधनमा टाँसेर प्रचारप्रसार गर्ने योजना पनि बनाइएको छ । प्रदेशको पर्यटन झल्किने गरी तयार पारिएको लोगो पर्यटक प्रवद्र्धन समितिको बैठकले अनुमोदन गरिसकेको छ । ‘देव भूमि सुन्दर भूमि’नारा लेखिएको लोगोमा प्रदेशका प्राकृतिक र मानव निर्मित पर्यटकीय क्षेत्रको तस्वीरसमेत राखिएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले भ्रमण वर्षलाई लक्षित गरी ‘भ्रमण वर्ष २०२०, हाम्रो मूल नारा राष्ट्र विकास, सबैको विकास, जुटौँ हामी सारा’ भन्ने मूल नारासहित पर्यटनमैत्री गतिविधि गर्ने योजना बनाएको छ । अभियानअन्तर्गत सीमानाकामार्फत भित्रिने पर्यटकको विवरण सङ्कलनका साथै पर्यटकलाई लक्षित गरी नाकाबाट भित्रिने गाडीका चालकका लागि सचेतना कार्यक्रम शुरु गरिसकेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै सीमानाकाबाट भित्रिने भारतीय गाडीका चालकले रुट परमिट(सडक इजाजत) लिनका लागि झन्झट व्यहोर्नुपरेको अवस्था रहेको परिपे्रक्ष्यमा भ्रमण वर्षलाई मध्यनजर गरी सीमानाकामा नै ‘रुट परमिट’ उपलब्ध गराउने व्यवस्था गर्न लागिएको पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले भ्रमण वर्षलाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहितका कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन लागेको छ ।
यसका लागि तेस्रो मुलुकका पर्यटकलाई प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिने व्यसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी तयारी भइरहेको छ । प्रदेशमा नगण्यरूपमा भित्रिने तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो । यो प्रदेशमा तेस्रो मुलकको तुलनामा भारतीय पर्यटक बढी आउने गरेका छन् ।
सुदूरपश्चिम पवित्र देव भूमिः
परापूर्वकालदेखि पवित्र देव भूमिका रूपमा चिनिएको सुदूरपश्चिम प्रदेशमा रहेका सात बहिनी भगवती(देवस्थल) पर्यटकका लागि मुख्य आकर्षणका रुपमा रहेका छन् । त्रिपुरासुन्दरी, मैलौली, निगलासैनी, उग्रातारा, शैलेश्वरी, सुर्मादेवी र बडिमालिका सात वटा बहिनी भगवती हुन् । यो प्रदेशमा वैद्यनाथ धाम, पाताल भूमेश्वर, मलिकार्जुन, परशुराम धाम र गोदावरीसमेत पाँच वटा धामसमेत धार्मिक पर्यटनका मुख्य गन्तव्य हुन् । यसबाहेक धनगढीको १०८ फिट अग्लो शिवलिङ्गसहितको शिवपुरी धाम, कञ्चनपुरको महाकाली नदी माथि बनेको झोलुङ्गे पुल, कैलालीको पूर्वी सीमा नदी कर्णालीमा बनेको दक्षिण एशियाकै नमूनाको ‘स्टेट केबु ब्रिज’ धनगढीको ‘यएर क्याप्ट म्युजिम’ पनि मानव निर्मित आकर्षक क्षेत्र हुन् ।
नेपाल सरकारले तोकेका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमध्ये सुदूरपश्चिम प्रदेशमा बाजुराको बडिमालिका, बझाङको गोरखनाथ मन्दिर, डोटीको बड्डी केदार, दार्चुलाको मालिकार्जुन, कैलालीको बर्दगोरिया मन्दिर, भादा गाउँ, टीकापुर सर्किट, दोधाराचाँदनी क्षेत्रलगायतका आठ पर्यटकीयस्थल समावेश छन् । यो प्रदेशमा प्राकृतिकरूपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी क्षेत्रलगायतका मुख्य पर्यटकीय गन्तव्यस्थल हुन् ।
नेपाल सरकारले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । प्रदेशमा चालू वर्षमा ‘मिसन शैपाल’को योजना सञ्चालन गर्न लागिएको छ । यो प्रदेशका हिमाल आरोहरण गर्न आउने पर्यटकलाई अपी शैपाल हिमाल आरोहण गराउनका लागि सहजीकरण गर्न यो अभियान गर्न लागिएको हो ।
दार्चुला र बझाङ जिल्लामा पर्ने यी हिमालको आरोहणको योजना सङ्घ र प्रदेश सरकारको समन्वयमा कार्यान्वय गर्न लागिएको हो । गत वर्ष अपी शैपाल हिमाल आरोहण गर्न गएको एक टोली प्रतिकूल मौसमका कारण आरोहण गर्न नसकी आधार शिविरबाटै फर्किएको थियो ।
एक निर्वाचन क्षेत्र, एक पर्यटन क्षेत्र :
प्रदेश सरकारको नीतिबमोजिम पर्यटनको विकास र प्रवद्र्धन गर्न प्रदेशसभा सदस्यको समन्वय र सिफारिसमा हरेक निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र, एक पर्यटन क्षेत्र’को योजना अघि बढाउन लागिएको छ ।
पर्यटकीय सम्भावना भएका क्षेत्रलाई एकापसमा जोडेर पर्यटकीय करिडोर निर्माणको अवधारणा पनि अघि बढाउन लागिएको छ । यसअन्तर्गत टीकापुर–कर्णाली पर्यटन करिडोर, दार्चुला–महाकाली नदी करिडोर, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर करिडोर, खुटिया–बिपीनगर–तेल्लेक–दिपायल–साँफे रमारोशन– बडीमालिका करिडोर र झुलाघाट–खोड्पे बझाङ करिडोर रहेका छन् । यी करिडोर निर्माणका लागि चालू वर्षमा रु १३ करोड ५२ लाख विनियोजन गरिएको छ ।