Logo

मञ्जुश्रीको मूर्तिले थपियो आकर्षण



काठमाडौँ, १३ पुस । कीर्तिपुर नगरपालिका–६ स्थित चोभारको मञ्जुश्री पार्क काठमाडौँ उपत्यकामा मानव बस्ती बस्दाको ऐतिहासिक कथनसँग सम्बन्धित सामग्रीले सजाउने क्रम जारी छ । काठमाडौँ उपत्यका पानीले भरिएको विशाल तालका रूपमा छँदा तिब्बतबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि यहाँ बस्ती बस्न सम्भव भएको कथनले चोभारको गल्छी प्रख्यात छ ।

पार्कको व्यवस्थापन गर्दै आएको जलविनायक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र महर्जनका अनुसार वि।सं। २०६२ देखि सञ्चालनमा ल्याइएको पार्कमा पछिल्लोपटक करिब चार करोड रुपियाँको लागतमा मञ्जुश्रीको मूर्ति थप गरिएको छ । उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण सो स्थानलाई स्थानीय बासिन्दाले पार्कको रूपमा विकास गरेको १३ वर्षपछि थपिएको ३३ फिट अग्लो मञ्जुश्रीको मूर्तिले विशेष आकर्षण थपिएको छ । सो मूर्ति कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा बनेको हो ।

सो पार्क सञ्चालन तथा व्यवस्थापन गर्दै आएको वन उपभोक्ता समूहका अध्यक्ष महर्जनका अनुसार त्यो स्थान पहिला ज्यादै एकान्त, डरलाग्दो झाडी, बुट्यानले घेरिएको थियो । काठमाडौँ उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक यस कथनलाई जीवन्त राख्न चोभारलाई तिनै कथनसँग सम्बन्धित पाटोबाट विकास गरौँ भन्ने लक्ष्यसहित केही व्यक्तिको पहलमा सुरु भएको हो भने। अध्यक्ष महर्जनले थप्नुभयो, “पार्कलाई समृद्ध बनाउन भौतिक संरचनाको विकासलगायत सम्बन्धित सम्पदा, आवश्यक पूर्वाधार निर्माणको क्रम जारी छ । ”

मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति

कलाकार चन्द्रश्याम डङ्गोलको समूहले करिब सात वर्ष लगाएर मञ्जुश्रीको मूर्ति निर्माण गरेको हो । कलाकार डङ्गोलले १३ टुक्रा ढुङ्गा जोडेर ३३ फिट अग्लो मूर्ति निर्माण गरेको छ । समूहका अध्यक्ष दीपेन्द्र महर्जनले भने, “सो पार्कको वास्तविक नाम राखिएको ऐतिहासिक र पौराणिक पात्र मञ्जुश्रीको मूर्ति त्यहीँ स्थापना गर्ने अवधारणाका परिकल्पनाकार पुरातत्व एवं इतिहासविद् स्वर्गीय शुक्रसागर श्रेष्ठको हो । ”
महर्जनले थपे, “नेपालमा ३३ कोटी देवताको उल्लेख धार्मिक ग्रन्थमा गरिएको हुन्छ, मञ्जुश्रीको मूर्ति त्यही र त्यस्तै मिथकसँग जोडिने गरी निर्माण गरौँ भन्ने उनको सदिच्छाका कारण ३३ फिटको बनाइएको हो । बौद्धधर्ममा १३ भुवनको चर्चा अत्यधिक गरिएको छ । मञ्जुश्रीको मूर्ति बनाउँदै जाँदा मूर्ति १३ टुक्रा जोडिने गरी बन्नुमा चाहिँ विशेष संयोग नै मिल्न गएको कलाकार डङ्गोलको भनाइ छ ।

ढुङ्गाको जग बनाउन पाइनँ, डङ्गोल
मूर्तिकार डङ्गोलको निरन्तर २५ वर्षको मूर्तिकलाको अभ्यासमा सबैभन्दा ठूलो अवसरका रूपमा मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति बनाउन पाएको हो । कलाकार यो मूर्ति बनाउनुअघि चीनको उथाइसान पञ्चशील पर्वतको भ्रमणमा समेत पुगेको थियो । पार्क निर्माण व्यवस्थापन समूहसँग मिलेर दुई वर्षसम्म मञ्जुश्रीको विभिन्न मुद्रा आसन, कपडा, गहनालगायतको अध्ययन गरे। फर्पिङको खार्पाबाट ढुङ्गा ल्याएर मूर्ति पनि तयार भयो ।

तर मूर्ति स्थापना गर्दा त्यसको जग ढुङ्गाको राख्न पाइएन । ढुङ्गाको मूर्तिको विशेष विशेषता भनेकै हजारौँ वर्षसम्म टिक्ने हो र टिकाउ होस् भन्ने लक्ष्यका साथ मूर्ति निर्माणपछि फेरि खार्पामै गएर पाँचजनाको समूहले पाँच महिनासम्मको मेहनतले करिब तीन सय टनको ढुङ्गा निकालियो । मूर्ति बनाउने बेलामा जस्तै दोस्रोपटक पनि सम्बन्धित सबैतिरबाट अनुमतिपत्रसहित झिकेको ढुङ्गा चोभारसम्म ल्याउने बेलामा भने स्थानीयले अड्को थापेर ढुङ्गा ल्याउन नदिएकाले सिमेन्टको जग बनाएर मूर्ति अड्याउनुपर्दा मन खिन्न भएको कलाकारको गुनासो छ ।

आकर्षणमा गुफा
पार्कका लागि आवश्यक पूर्वाधारसहित वि।सं। २०६२ देखि अवलोकनका लागि खुला गरिएको सो पार्कभित्र रहेको नाग गुफा, वाराही गुफा र बाघ गुफालाई फलामको बार र सिमेन्टको भ¥याङसहित सञ्चालन गरिएको छ । एक हजार २५० मिटर लम्बाइको गुफामा हालसम्म ३५० मिटरका लागि मात्र अवलोकन भ्रमणका लागि खुला गरिएको छ । बाँकी स्थानमा बत्तीलगायतका आवश्यक पूर्वाधारका अभावमा भ्रमणका लागि खुला गरिएको छैन । करिब ६० रोपनी जमिनमा बनिरहेको पार्क गुरुयोजना अनुसार बनिरहेको छ । त्यस पार्कमा पछिल्लोपटक स्थापना गरिएको मञ्जुश्रीको ३३ फिटको ढुङ्गाको मूर्तिले विशेष आकर्षण थपिएको छ ।

अध्यक्ष महर्जनले पार्कको गुरुयोजना अनुसार पार्कमा सबै संरचना तयार पार्दासम्म करिब २० करोड रुपियाँ अनुमानित खर्च लाग्नेछ भने । वन उपभोक्ता समूहसँग त्यत्रो लगानी गर्ने क्षमता हुँदैन, सार्वजनिक हितका लागि पार्क निर्माण गर्दा स्वेच्छिक सहयोग र वडा, नगरपालिकास्तरीय टुक्रे बजेटले काम गर्दा पार्क पूर्ण हुन अझै धेरै समय र लगानी लाग्नेरहेछ भने । कीर्तिपुर नगरपालिकाको सहयोगबाट प्राप्त ३७ लाख ५० हजार रुपियाँले मञ्जुश्रीको मूर्ति राखिएको भन्दा तलको संरचना निर्माण गरिएको समूहका अध्यक्ष डङ्गोलले जानकारी दिए।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्