काठमाडौँ, १३ पुस । बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेन इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
हिमालका चार, पहाडका छ र तराईका पाँच जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षणमा सरकारी र निजी स्कुलमा अध्ययनरत १८ वर्षमुनिका ५ हजार ११ बालबालिका र ३ हजार १ सय ५५ शिक्षक, ४ हजार ७ सय ७८ अभिभावक समेटिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको ०७३ को तथ्यांकमा नेपालको जनसंख्याको ५२।७ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको उल्लेख छ ।
इक्याप्टको सर्वेक्षणले ७१।८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ । इन्टरनेटको प्रयोग छात्राभन्दा छात्रले बढी गर्ने गरेका छन् । ७१।८ प्रतिशत छात्र र २८।२ प्रतिशत छात्राहरूले औसतमा दैनिक ६ घण्टा इन्टनरेट प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले २१।५० प्रतिशत बालबालिकाले दैनिक एक घण्टाभन्दा कम, २१ प्रतिशतले दैनिक एक घण्टाभन्दा धेरै र १५ प्रतिशतले दैनिक एकदेखि तीन घण्टासम्म मोबाइलमार्फत इन्टरनेट चलाउने गरेको भेटियो । सर्वेक्षणमा ५४।५ प्रतिशत बालिका र ४५।५ प्रतिशत बालकले विद्यालयमा इन्टरनेट चलाउने गरेको बताएका छन् । त्यस्तै राति १० बजेपछि इन्टरनेट चलाउनेमा भने छात्राभन्दा छात्र अगाडि देखिन्छन् । सर्वेक्षणमा संलग्नमध्ये ४९।८ प्रतिशत छात्रा र ५०।२ प्रतिशत छात्रले राति १० बजेपछि पनि इन्टरनेट चलाउने गरेको बताएका छन् । सर्वेक्षणका अनुसार विद्यार्थीले इन्टरनेटमा ‘यु–ट्युब’ धेरै हेर्ने गरेको बताएका छन् । अनलाइन गेम र सामाजिक सञ्जालमार्फत च्याट उनीहरूको दोस्रो र तेस्रो प्राथमिकता देखिएको छ । सर्वेक्षणले छात्राले भन्दा छात्रहरूले इन्टरनेट प्रयोग गर्दा एकान्त रोज्ने गरेको देखाएको छ । सहभागीमध्ये ५२।२ प्रतिशत छात्र र ४७।८ प्रतिशत छात्राले एक्लै भएको बेला मात्रै इन्टरनेट चलाउने गरेको बताएका छन् ।
विद्यार्थीले विद्यालयमै इन्टरनेट चलाए पनि शिक्षकले त्यसको पर्याप्त निगरानी नगर्ने गरेको अध्ययनले देखाएको छ । सर्वेक्षणमा सहभागी ४५।९ प्रतिशत शिक्षकले मात्रै आफूले पढाएका बेला विद्यार्थीले इन्टरनेट चलाएका छन् कि छैनन् भनेर जाँच्ने गरेको बताएका छन् भने बाँकीले त्यस्तो जाँच नगर्ने गरेको जवाफ दिएका छन् । इन्टरनेटको माध्यमबाट अरूको सामाजिक प्रतिष्ठामा हानि पुग्ने, अपमान हुने वा साइबर अपराध हुनेबारे धेरैजसो बालबालिका जानकार देखिँदैनन् । सर्वेक्षणमा सहभागी ४९।७ प्रतिशत छात्रले इन्टरनेटको माध्यमबाट साइबर अपराध हुने थाहा भएको बताएका छन् भने ४८।७ प्रतिशतले थाहा नभएको बताएका छन् । ५०।३ प्रतिशत छात्राले यसबारे थाहा भएको बताएका छन्, ५१।३ प्रतिशतले थाहा नभएको जवाफ दिएका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये आधाभन्दा धेरै अर्थात् ६०।९ प्रतिशत छात्रछात्राले आफ्नो फेसबुक अकाउन्ट रहेको बताएका छन् । उनीहरूमध्ये २०।५ प्रतिशतले एकभन्दा धेरै फेसबुक अकाउन्ट फरक नाम र फरक तस्बिर राखेर चलाएका छन् । सर्वेक्षणमा सहभागी ६।३ प्रतिशतले नक्कली नाम र नक्कली फोटो राखेर फेसबुक चलाउनले गरेको बताएका छन् । सर्वेक्षणले बालबालिका सामाजिक सञ्जालको पहुँचमा रहे पनि त्यसको विवेकपूर्ण र सुरक्षित प्रयोगबारे उतिसाह्रो जानकार छैनन् भन्ने तथ्य बाहिर ल्याएको छ ।
फेसबुकपछि बालबालिकामाझ इन्स्टाग्राम र युट्युब लोकप्रिय देखिन्छ । सर्वेक्षणमा सहभागीमध्ये ३४।७ प्रतिशत बालबालिकाले आफैंले फेसबुक अकाउन्ट खोलेको बताएका छन् । त्यस्तै दुई तिहाइले अभिभावक र अन्य आफन्तको सहयोगमा फेसबुक अकाउन्ट खोलेको बताएका छन् । सर्वेक्षणले बालबालिकाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग नगरेको तथ्यसमेत प्रकाश पारेको छ । फेसबुकको दुरुपयोग हुन नदिन यसको पासवर्ड गोप्य राख्नुपर्नेमा सर्वेक्षणका सहभागी ५२ प्रशितशत बालबालिकाले पासवर्ड आफ्ना अभिभावक, दाइ, दिदी वा भाइ, बहिनी, नातेदार र साथीभाइमाझ बाँडेको बताएका छन् । अनौठो त यो छ कि ९।३ प्रतिशत बालबालिकाले फेसबुकको पासवर्ड आफ्नो साथीसँग साटेको देखिन्छ ।
फेसबुकको प्रयोग बालबालिका निम्ति सामाजिकीकरणमा सहयोगीभन्दा त्यसले जोखिम बढाइरहेकोतर्फ पनि सर्वेक्षणले संकेत गरेको छ । सर्वेक्षणमा सहभागीमध्ये १५।७ प्रतिशत बालबालिकाले आफूले फेसबुकलगायत सामाजिक सञ्जालको माध्यमबाट यौनजन्य गतिविधि समेटिएको फोटो र सन्देश पाएको बताएका छन् । जबकि इन्टरनेटको माध्यमबाट देखिने अश्लील गतिविधि, यौनजन्य फोटो, भिडियो र लेखलाई झन्डै ४९ प्रतिशतले अनदेखा गर्ने गरेको बताएका छन् ।
त्यस्तै सर्वेक्षणमा सहभागीमध्ये ५६।६ प्रतिशत बालबालिकाले इन्टरनेटको माध्यमबाट हुने यौन शोषण र यौनजन्य कार्यविरुद्धको कानुनबारे थाहा नभएको बताएका छन् । सर्वेक्षणले अभिभावकहरू आफ्ना बालबालिकाले इन्टरनेटमा के हेरिरहेका छन् भन्नेबारे धेरै जानकार नदेखिएको समेत देखाएको छ । १८।२ प्रतिशत अभिभावकले मात्रै आफूले आफ्ना बालबालिकाले इन्टरनेटमा के हेर्छन् भन्नेबारे सधैं जाँच्ने गरेको बताएका छन् । जबकि १८ प्रतिशत ८ प्रतिशत अभिभवाकले भने त्यस्तो जाँच कहिल्यै नगर्ने बताएका छन् ।
सर्वेक्षणमा सहभागी अनुसन्धानकर्मी अधिवक्ता प्रवीन सुवेदीले नेपालका बालबालिका इन्टरनेटको पहुँचमा पुगे पनि त्यसको सुरक्षित प्रयोग नभइरहेको बताए । उनले सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे अभिभावक, शिक्षक र बालबालिका तीनै पक्ष अपुरो बुझाइमा रहेको बताए । कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘इन्टरनेटको पहुँचबाट हाम्रा बालबालिकाले फाइदा मात्रै लिइरहेका छैनन्, उनीहरू उत्तिकै जोखिममा पनि छन् ।’
कान्तिपुर दैनिकबाट