Logo

‘मागपत्र युग’को अन्त्यः मन्त्री बाँस्कोटा



काठमाडौं,पुस १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाद्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए ।

उनले भने, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको दाबी गरेका छन् । उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राखेका छन् । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ”, उनको जिकिर थियो ।

मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो¥याए । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उनले भने । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपालः सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उनले भने, “स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।” सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उनले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने जानकारी गराए ।

मन्त्री बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नागरिकले वार्षिक १२ हजार ५०० सय डलर आम्दानी गर्ने जिकिर गरे । “सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ”, उनले भने । शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रह गरे ।रासस



प्रतिक्रिया दिनुहोस्