काठमाडौं, १४ पौष । ‘म जब गेटबाट छिर्दै थिए तब ममाथि हमला भयो,’ भारतीय राजदूत मञ्जिव सिंह पुरीले नक्शालस्थित होटल मेरियटमा भने । उनले हमलाकारीको खुलासा गर्दै गए ।
हमला गर्ने अरु कोही नभएर पत्रकार ऋषि धमला थिए । आफूलाई एक दर्जन संस्थाले बिदाईका लागि नक्शालको होटल मेरियटमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पुरीले भने, ‘ममाथि ऋषि धमलाले हमला गरेका हुन् ।’ उनले धमला कहाँ छन् ? भनेर माइकबाटै बोले । तर, धमला कार्यक्रममा बीचैमा उठेर हिंडिसकेका थिए ।
‘धमला हमला गरेर गइहाल्छन्,’ पुरीले भने । पुरीले धमलाको भनाई उदृत गर्दै भने, ‘एम्बेसेडर आज कमाल भयो, गोरखापत्रले समेत तपाईंको बारेमा राम्रो लेख्यो ।’ पुरीले ठट्टा गर्दै भने, ‘मामला त ठिक छ ?’
राजदूत भई झण्डै तीन वर्ष नेपाल बसेपछि कार्यकाल सकिएर स्वदेश फर्कनु अघि पुरीले घुमाउरो पाराले आफू विवादमुक्त भएर जानलागेकोमा खुशी व्यक्त गरेका थिए । उनलाई आयोजकहरुले पनि विवादमुक्त राजदूतका रुपमा उल्लेख गरेका थिए ।-File Photo