Logo

नेतृत्वप्रति जिल्ला कोषाध्यक्षहरु रुष्ट, देउवा–पौडेललाई मिल्न दबाब



पुष १४, काठमाण्डौ । शीर्ष नेताहरुबीच तिक्तता बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् ।

आज जिल्ला कोषाध्यक्षहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरु एकजुट हुनुपर्ने समयमा विभाजित भएकोमा चिन्ता व्यक्त गरेका हुन् । नेकपाको सरकार अधिनायकवादतिर लम्किरहेका बेला कांग्रेसले खबरदारी गर्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिदा पार्टी कमजोर भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सबै नेताहरु एक ठाउँमा उभिन आग्रह गर्दै कोषाध्यक्षहरुले लोकतन्त्रवादीहरुलाई निराश नबनाउन सचेत गराइएको छ । “वार्ताको माध्यमबाट आपसी सहमती र सहकार्य गरी पार्टीलाई चलायमान बनाई अगाडी बढ्न सभापति, वरिष्ठ नेतालगायत सम्पूर्ण नेतृत्वसँग जोडदार माग गर्दछौँ ।” विज्ञप्तिमा लेखिएको छ ।

कोषाध्यक्षहरुले सभापति शेरबहादुर देउवालाई बहुमतको दम्भ देखाएको आरोप लगाएका छन् भने वरिष्ठ नेतालाई बहुमतलाई स्वीकार गर्न नसकेको आरोप लगाएका छन् । काठमाण्डौ जिल्लाका कोषाध्यक्ष गोविन्द पुडासैनीले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिइएको छ ।

पार्टीलाई थप बलियो बनाउनका लागि दबाबस्वरुप कोषाध्यक्षहरु एकजुट भएको तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्