काठमाडौं,पुस १५ । संघीय संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित सम्बन्ध समितिले उखु किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिको सोमबार बसेको बैठकले किसानको बक्यौता रकम उपलब्ध गराउन निर्देशन दिएको हो।
समितिका सभापति बिमल श्रीवास्तवले किसानको बक्यौता दिन आलटाल गर्ने चिनी उद्योगीलाई राज्यको सम्पूर्ण संयन्त्र प्रयोग गरी कारबाही गर्नसमेत निर्देशन दिएका छन्। सभापति श्रीवास्तवले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयलाई दुई प्रकारको निर्देशन दिएका हुन्।
उखु खरिद गरेर पैसा नदिने उद्योगीबाट तत्काल सम्पूर्ण रकम उपलब्ध गराउन समितिले पहिलो निर्देशन दिएको हो। बक्यौता उपलब्ध गराउन आनाकानी र अटेर गर्ने चिनी उद्योगीलाई राज्यको सम्पूर्ण संयन्त्र तथा आवश्यक परे इन्टरपोलको समेत प्रयोग गरी पक्राउ गरी कारबाहीको दायरामा ल्याउन दोस्रो निर्देशन दिइएको छ।अन्नपूर्ण पोस्ट्बाट