Logo

काम गर्न जान्छन्, उतै हराउँछन्



काठमाडौँ, १५ पुस । ६५ वर्षीया गुल्टी धामी घरमा नौलो मान्छे आउनेबित्तिकै पुराना एल्बम निकाल्छिन् । एल्बमका पाना फर्काउँदै बेपत्ता छोराका तस्बिर देखाउँछिन् । अनि भन्छिन्, ‘अब त छोराहरू नदेखेरै मर्ने भएँ ।’ उनलाई थाहा छैन आफ्ना बेपत्ता छोराहरू जीवित छन् वा छैनन् । तैपनि मर्नुअघि एकपटक मात्रै भए पनि हेर्न पाए हुन्थ्यो भन्ने लाग्छ । छोराहरूलाई सम्झेर रातदिन पिरोलिन्छिन् ।

१८ वर्षअघि रोजगारीका लागि भारत पसेका गुल्टीका जेठा छोरा नम गएदेखि घर फर्केका छैनन् । कञ्चनपुरको महाकाली नगरपालिका–९, ढकनाघाट बस्ने नम गाउँलेसँगै भारत, उत्तराखण्डको अल्मोडातिर गएका थिए । त्यसपछि उनी कहिल्यै परिवारको सम्पर्कमा आएनन् । गुल्टीका अनुसार अल्मोडामा उनी दाउरा चिर्ने काम गर्थे । सँगै गएका अरू घर फर्किए तर उनी त्यहाँबाट बेपत्ता भए । काम गरेर घर फर्किएकाहरूसँग सोधपुछ गर्दा गुल्टीले नम अल्मोडाबाट अन्तै गएको मात्रै थाहा पाइन् । नम अल्मोडा गएको दुई वर्षपछि उनका भाइ धनबहादुर पनि रोजगारीकै लागि गाउलेसँग दिल्ली गए । उनको पनि कुनै अत्तोपत्तो छैन । गुल्टी अहिले दिल्लीबाट कोही गाउँले घर फर्कियो भने धनबहादुरका बारेमा सोध्छिन् । सबैबाट उनले पाउने एउटै जवाफ हो, ‘हामीले कतै देखेनौं, केही थाहा भएन ।’

गुल्टीका साइला छोरा पदम दुई दाजुभन्दा पहिले ९ वर्षको उमेरमै छिमेकीसँग दिल्ली गएका थिए । एक वर्षसम्म घरमा सम्पर्क भइरहन्थ्यो । होटलमा काम गर्थे । चिठीपत्र पठाइराख्थे । एक वर्षपछि उनी त्यो काम छाडेर अन्तै गए । त्यसपछि न त घरमा चिठी पठाए न उनीसँगै गएका गाउँलेले कतै देखे । ‘२२ वर्ष भयो पदम हराएको,’ गुल्टीले भनिन्, ‘त्यसपछि जेठो र माइलो पनि इन्डिया गए, उतै हराए केही खबर छैन ।’ गुल्टीका पाँच छोरामध्ये कान्छा राम मलेसियामा छन् । अर्का छोरा कर भारतकै केरलामा छन् । गुल्टीले आफ्ना बेपत्ता छोराहरू फर्किने आस मारेकी छैनन् । ‘मर्नुअघि छोराहरू भेट्छु भन्ने मेरो मनले भन्छ,’ उनले भनिन्, ‘बूढा यही आसमा बिते, अब मेरो पनि भर छैन ।’

तीन छोरा बेपत्ता भएको धामी परिवारले कतै उजुरी वा निवेदन दिएन । भारतमा हराएका छोरालाई नेपालका प्रहरीले खोजिदेलान् भन्ने उनीहरूलाई लागेन । त्यसैले गाउँघरतिरै धामीझाँक्री र ज्योतिषीकहाँ हेराउने काम मात्रै गरे । अहिले पनि गुल्टी जोखाना हेराउन विभिन्न ठाउँ दौडिराख्छिन् । कञ्चनपुरकै वेदकोट नगरपालिका–१, पिपलथलाकी ७० वर्षीया कौशिला चन्दलाई गाउँमा नौलो व्यक्ति आउँदा २२ वर्षअघि बेपत्ता भएको आफ्नै छोरा आएजस्तो लाग्छ । आँखा देख्ने बेलासम्म उनी हेरिराख्छिन् । उनका माइला छोरा धर्म चन्द २२ वर्षअघि ८ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा गाउँलेसँग भागेर भारततर्फ गएका थिए तर उनी फर्केनन् । एकपटक गाउँलेले भारतकै मुम्बइमा देखेको खबर घरमा पुर्‍याए । धर्मका बुवा चन्द्रबहादुर हतारहतार गाउँलेसँगै मुम्बई पुगे तर छोराको अत्तोपत्तो लागेन ।

‘बाबु बितेको १८ वर्ष पुग्यो, छोराको कुनै पत्तो लागेन,’ कौशिलाले भनिन्, ‘अब फर्किने आस छैन ।’ उनका अनुसार धर्म घरबाट स्कुलबाहेक कतै जाँदैनथे । गाउँले भारत जाने भएपछि उनी एक साताअघि नै घर छाडेर महेन्द्रनगर बजारमा बसेका थिए । धर्म पनि उनीहरूसँगै भारततर्फ गएको खबर ढिला गरी पाएको कौशिलाले बताइन् । उनको परिवारले पनि छोराको खोजीका लागि प्रहरी प्रशासनमा कतै उजुरी दिएको छैन । प्रहरीले छोराको खोजी गरिदिने उनीहरूलाई आस छैन । कौशिलाका तीन छोरामध्ये जेठा रामबहादुर रोजगारीकै लागि मलेसिया पुगेका छन् । कान्छा हिमाल घरतिरै खेतीपाती गर्छन् ।

पिपलथलाकै गंगाराम भट्ट पनि रोजगारीका लागि भारत पसेको ३० वर्ष भयो । दाइ नमराजसँगै दिल्ली गएका उनी त्यहींबाट बेपत्ता भएका हुन् । नमराजले उनलाई एउटा पसलमा नोकरी लगाइदिएका थिए । आफू भने अन्तै काम गर्थे । दुईरतीन दिनपछि आउँदा भाइलाई त्यहाँ पाएनन् । काम छाडेर हिँड्यो भन्ने मात्र सुने । त्यसपछि घरमा खबर गरे, दिल्लीमा पनि आफन्त भएको सबै ठाउँमा खोजी गरे तर भाइलाई भेटेनन् । गंगारामकी आमा भागरथी उनको सम्झनामा रुने गर्छिन् । घरमा अन्य चार छोरा भए पनि उनलाई बेपत्ता छोराकै बढी सम्झना आउँछ । ‘जति छोरा भए पनि माया कम हुँदैन, उसकै सम्झनाले सताउँछ,’ भागरथीले भनिन्, ‘छोरा आउने आसमै बाबुको मृत्यु भयो, अब म पनि आसैआसमा मर्ने भएँ ।’

पिपलथलामा मात्रै कामको खोजीमा भारत पसेका १० जना बेपत्ता छन् । कोही घरबाट भागेर गएका थिए, कोही आफन्तसँगै थिए । अधिकांश घरबाट गएदेखि सम्पर्कविहीन बने । कतिपयले एक–दुईपटक सम्पर्क गरे । त्यसपछि काम गरिरहेको ठाउँ छाडेर अन्तै गए र घर परिवारमा पनि सम्पर्क गर्न छाडे ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्