Logo

जन्मदिनमा आश्रमका बालबालिकालाई सहयोग



काठमाडौँ १५ पुस : पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ ।

विभिन्न आश्रम, विद्यालय तथा सडकमा जीवन काटिरहेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो सहयोग गर्न थालिएको हो ।

जन्मदिनको दिन गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, आश्रममा पुगी खाना खुवाउने तथा लत्ताकपडा वितरण गर्ने प्रचलन बढेर गएको छ । विभिन्न अवसर पारी दाताहरुले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकहरुले सहज महसुस गर्न थालेका छन् ।

पत्रकार दीपक भुसालले जन्मदिन पारेर काठमाडौँको कागेश्वरी मनोहरा–७ मा फ्युचर होप नेपालले सञ्चालन गरेको बालआश्रममा पुगी बालबालिकालाई खाना खुवाउनु भएको छ । आश्रममा २३ जना बालबालिकाले आश्रय लिइरहेका छन् । सबैले होप एजुकेशनल एकेडेमीमा पढ्छन् । एकेडेमीले पचास प्रतिशत छुटमा बालबालिका पढाइरहेको छ ।

आश्रमले विद्यालयलाई बुझाउने एक महिनाको शुल्कको पचास प्रतिशत रकमसमेत व्यहोर्ने भुसालले बताए । “मैले १० वर्षदेखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो गर्दै आएको थिएँ”, उनले भने, “यो वर्ष कुनै अनावश्यक खर्च नगरी सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ ।”

उनले प्रत्येक वर्ष समाजिक क्षेत्रमा लगानी गरेर जन्मदिन मनाउने बताए । “सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोही पनि अभावमा बाँच्नु पर्दैन”, उनले भने ।

फ्युचर होप नेपालका अध्यक्ष रीता सिवाकोटीले बुबाआमाले गरेको समाजसेवाबाट प्रभावित भएर आश्रम सञ्चालन गरेको बताए । “बुबाआमा धार्मिक थिए”, उनले भने, “बुबाआमाले दुःखी गरिबलाई गरेको सहयोगबाट प्रभावित भएर म पनि समाजिक काममा लागेँ ।” “आफ्नो लागि, आफ्ना बालबच्चाका लागि र आफ्नो परिवारका लागि गर्नु कुनै ठूलो विषय होइन”, उनले थपे, “जस्ले अरूका लागि गर्छ, ऊ नै महान् हो ।”

उनले बालबालिकाका लागि चाहिने शैक्षिक सामग्री र खाद्यान्नको अभाव नरहे पनि रकम अभावका कारण विद्यालयमा शुल्क बुझाउन मुस्किल परिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्