पुष १५, काठमाण्डौ । नेपालको अस्तव्यस्त हुने सरकारी कार्यालयहरुमध्ये यातायात व्यवस्था कार्यालय अग्रपंक्तिमा आउँछ । यातायात व्यवस्था कार्यालयमा घुस, कमिसन खाने मात्रै होइन, काममा ढिलासुस्ती पनि उस्तै हुने गर्छ ।
यस्तै समस्या देखिएको छ यातायात व्यवस्था कार्यालय गुर्जधारामा पनि । प्रदेश तीन माहतहतमा रहेको यो कार्यालयमा दैनिक हजारौँ सेवाग्राही पुग्ने गर्दछन् । तर सेवाग्राहीले काम सम्पन्न गर्न निकै कष्ट भोग्नुपर्छ । न कर्मचारीको जिम्मेवारीपन न चुस्त प्रविधि ।
दिन विराएर कार्यालयको इन्टरनेट सर्भरमा समस्या आउने गरेको छ । जसले गर्दा सवारी साधनसम्बन्धी काम लिएर जाने सेवाग्राहीले निकै झमेला बेहोर्नुपर्छ ।
मंगलबार पनि त्यस्तै भयो । विहान १० बजेदेखि कार्यालय पुगेका सेवाग्राहीले न तिर्नुपर्ने दस्तुर तिर्न पाए न कार्यालयले उचित व्यवस्था गर्न सक्यो ।
सवारी सधान र चालक अनुमतिपत्र नविकरण गर्न गएका सेवाग्राहीले ग्लोबल आइएमई बैँकमा पैसा जम्मा गर्नुपर्छ । तर बैँकमा पनि उस्तै समस्या छ ।
समस्याबारे कार्यालयका प्रमुख दिपकुमार पोखरेललाई सोध्दा कार्यालयको समस्या नभै सर्भर व्यवस्थापन गर्ने निकायका कारण समस्या भएको जवाफ दिए । तर कार्यालयमा घुस र कमिसन दिने तथा आफन्त र पहुँच भएकाहरुको काम भने भइरहेको थियो ।
विहानैदेखि लाइन लागेर बसेका सेवाग्राही कार्यालयको सर्भर कहिले बन्ला र काम सम्पन्न गरौँला भनेर कुरिरहेका छन् ।