बैतडी, १५ पुस : कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले बैतडी र दार्चुलामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
बैतडीका पाँच स्थानीय तह र दार्चुलाका चार स्थानीय तहमा उक्त कार्यक्रम सञ्चालनको तयारी भएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका पशु चिकित्सक मोहनदेव भट्टले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारको चालु आव २०७६-७७ को ‘मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’अन्तर्गत उक्त कार्यक्रम सञ्चालनको तयारी भएको हो । बैतडीको पाटन नगरपालिका–१, सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–३, दोगडाकेदार गाउँपालिका–४ र शिवनाथ गाउँपालिका–२ र ४ मा सो कार्यक्रम सञ्चालन हुन लागेको हो । कार्यक्रमअन्तर्गत पाटन, सिगास, सुर्नया, दोगडाकेदारमा बाख्रापालन र शिवनाथमा कुखुरापालनको कार्यक्रम लागू हुनेछ ।
यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका–४, मार्मा गाउँपालिका–६, नौगाड गाउँपालिका–६ र अपी हिमाल गाउँपालिका–२ र ६ मा सो कार्यक्रम सञ्चालन हुने तयारी भएको बताइएको छ । कार्यक्रमअन्तर्गत शैल्यशिखर र मार्मामा बाख्रापालन, नौगाडमा बाख्रा र भेडापालन तथा अपी हिमालमा भेडापालन कार्यक्रम लागू गरिने केन्द्रले जनाएको छ ।
कार्यक्रम लागू हुने स्थानीय तहहरुमा समन्वय समिति गठन गरिन लागिएको पशु चिकित्सक भट्टले जानकारी दिए । नमूना कृषि कार्यक्रमका लागि कम्तीमा ५० जना कृषक घरधुरी समेटिनुपर्ने, ताकिएअनुसार न्यूनतम मापदण्ड हुनुपर्ने र सम्बन्धित पालिकाले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ ।