Logo

फर्केर हेर्दा : विश्व घटना २०१९



पुष १५, काठमाण्डौ । सन् २०१९ भर दुईथरी घटनाले निकै चर्चा पाए । ग्रेटा थनबर्गको नेतृत्वमा जलवायु परिवर्तन रोक्नका लागि चलाइएको अभियान र संसारका विभिन्न मुलुकमा जनस्तरबाट भएका विद्रोह । सन् २०१९ मा कतै हासो छायो त कतै दुखदायी रह्यो । अमेरिकी राष्ट्रपतिसँग जोडिएका प्रसंग वर्षभरि चर्चित रहे । हङकङको आन्दोलन पनि विश्वभर मिडियामा छाइरह्यो ।

हङकङ
हङकङमा सुपूर्दगी कानूनविरुद्धको अभियान थामिएको छैन । पश्चिमी मुलुकहरूले यसलाई लोकतन्त्र पक्षधर अभियान नाम दिएको भए पनि चीनले भने आफ्नो सार्वभौमसत्तामा खलल पार्ने उद्देश्यको भएको आरोप लगाएको छ ।

जलवायु परिवर्तन
जलवायु परिवर्तन र विश्व तापक्रममा वृद्धि यो वर्ष प्रमुख मुद्दा बन्यो । पृथ्वीको अस्तित्व नै खतरामा परेको अनुभव गरेकी १६ वर्षीया स्विडिश किशोरी ग्रेटा थनबर्गको फ्राइडे स्ट्राइक फर क्लाइमेट अभियानमा उत्साहपूर्वक सहभागी भए । जलवायु परिवर्तनको दुष्प्रभावलाई कम गर्न विश्वनेताहरू गम्भीर नभएको भनी उनले हाउ डेयर यू भनी गरेको सम्बोधन प्रख्यात भयो । यो वर्ष युवाले असमानता, मूल्यवृद्धि, सुशासनलगायतका विषयमा सरकारविरोधी अभियान चलाए । कतिपय देशमा कार्यकारी प्रमुख राजीनामा गर्न बाध्य भए । इजिप्ट, इरान, इराक, रुस लगायतका स्थानमा विरोधको दमन गरियो । सुडानमा लामो समयदेखि निरंकुश शासनसत्ता ढल्यो । त्यस्तै अल्जेरियामा राष्ट्रपति अब्देलअजिज बूतेफ्लिकालाई अपदस्थ गरियो । लेबनानका प्रधानमन्त्री साद हरिरी पनि राजीनामा दिन बाध्य भए ।

येल्लो भेस्ट अभियान
फ्रान्समा मजदूर वर्गको समस्यालाई सरकारले ध्यान नदिएको भन्दै चलेको येल्लो भेस्ट अभियान कायमै छ । बोलिभियामा भने निर्वाचित राष्ट्रपति इभो मोरालेसलाई दक्षिणपन्थी कूमार्फत अपदस्थ भई मेक्सिकोमा निर्वासित हुन बाध्य भए ।

बेलायत
बेलायतमा कन्जरभेटिभ पार्टीका बोरिस जोनसनले निर्णायक बहुमतका साथ निर्वाचनमा विजय हासिल गरेर बेलायतलाई युरोपेली संघबाट निकाल्ने ब्रेक्जिटका लागि जनसमर्थन पाए ।

भारत र पाकिस्तान


भारत र पाकिस्तानबीच आणविक युद्ध भड्किन सक्ने आशंका यस वर्ष प्रबल बने त्यसो भएन । कश्मीरमा पाकिस्तान समर्थित लडाकूहरूले आक्रमण गरेर भारतीय अर्धसैनिक बलका जवानहरूको हत्या गरे । प्रतिकारमा भारतले पाकिस्तानको भूमिमा प्रवेश गरेर हवाई आक्रमण ग¥यो ।

भारतमा नागरिकता विधेयकविरुद्ध प्रदर्शन


नागरिकता सम्वन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बंगाल, कलकत्ता, तामिलनाडूलगायतका राज्यमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

ट्रम्प विरुद्ध महाअभियोग प्रस्ताव


सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिहरुमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने । हाउस अफ् रेप्रिजेन्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै गत डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो ।

सान्ना विश्वकै कान्छी प्रधानमन्त्री


फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषयले यो बर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्याट्रिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो ।

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरी शक्तिशाली महाराष्ट्रहरु अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु ओगट्न सफल भए । यसबाहेक अन्य देशका पनि केही घटनाहरुले स्थान पाए ।

भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित
सन् २०१९ को सुरुवात जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निश्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैलाई राष्ट्रपति घोषणा गराएका थिए । घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट्रहरु, ब्राजिल, कोलम्बिया, अर्जेन्टिना र अष्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए । तर मदुरो अहिलेसम्म पनि राष्ट्रपतिमै रहन सफल भएका छन् ।

बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत
बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले संसदको निर्वाचनमा बेलायतलाई युरोपेली संघ (ईयू)बाट बाहिर निकाल्ने जनादेश सहितको बहुमत पाएको छ । उनँले आगामी जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरिरेका छन् ।

अमेरिका र उत्तर कोरिया
एक अर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभएपनि शीर्ष नेताको दुई बैठक भयो । दुवै बैठक ठोस उपलब्धीमूलक नभए पनि द्धिपक्षीय सम्वन्धमा दरार नहुनुलाई नै सन्तोषको रुपमा हेरिएको छ ।

बाढी र रोगबाट सयौँको मृत्यु
बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्रमा गरी ३ सय भन्दाबढीको मृत्यु भयो । भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अष्ट्रेलियामा यस वर्ष फ्लूका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो ।
आन्दोलनमा सयौँ मारिए


सुडानमा भएको आन्दोलनका क्रममा १ सय ८ जनाको मृत्यु भयो भने इराकमा झण्डै एक सय जना आन्दोलनकै क्रममा मारिएका छन् । अफ्रिकी अन्य देशहरुमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता बिमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ ।

भारतमा वावरी मस्जिद र जम्मु काश्मिर
भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३ सय ७० खारेज गर्ने आदेश जारी ग¥यो । त्यसपछि जम्मु–काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महत्वपूर्ण दिनको रुपमा लिइएको छ ।

इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको अदालतमै मृत्यु
सन् २०१९ मै इजिप्टका ६७ बर्षिय पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो ।

 दुई सय २७ बालबालिकाको सामूहिक चिहान


दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएको यस्ता चिहानहरुमा त्यो सबैभन्दा ठूलो थियोे ।

सरिफ सिकिस्त, अब्बासी पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त विरामी छन् । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि बेलायत लगिएको थियो । यस्तै सन् २०१९ मै पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । यस्तै पाकिस्तानका अर्का पूर्व राष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरी नै फैसलाले विवाद निम्त्याएको छ । यी बाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायतका विषय पनि वर्षभरी चर्चामा रहिरहे । यस्तै उतार चढाबका बीच वर्ष २०१९ विदा हुदैछ र नयाँ वर्ष २०२० लाग्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्