पुष १५, काठमाण्डौ । शीर्ष तहमा विवाद चुलिदै गएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सिटौलाले पार्टी केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउन आग्रह गर्दै पत्र पठाएका हुन् ।
उनले सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा सहमतिबाट मात्रै पार्टी निर्णय लिन आग्रह गरेका छन् ।
“१३ औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वा्चित तपाईंको अबको पहिलो र प्रमुख जिम्मेवारी १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने हो ।” उनले ध्यानाकर्षण गराउँदै पत्रमा लेखेका छन् ।
सिटौलाले जिम्मेवारी निर्वाह गर्न कुनै गुटको नभै समगै नेपाली कांग्रेसको पार्टी सभापति हुँ भन्ने कुरा स्मरण गर्न आग्रह गरेका छन् । साथै पूर्वाग्रहबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्वक गर्न सुझाब पनि दिएका छन् ।
“बृहत् एकता नै आजको अपरिहार्य र प्रथम आवश्यकता हो । त्यसैले पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउनका लागि पार्टीको विधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्नको लागि पार्टी सभापतिको रुपमा पहलकदमी लिन पुनः आग्रह गर्दछु ।” सिटौलाको पत्रमा उल्लेख छ ।
पुस ११ गते केन्द्रीय समितिको बैठक जसरी सम्पन्न भयो, त्यसलाई सिटौलाले पार्टीको परम्परा विपरीत भएको ठहर गरेका छन् ।