काठमाडौँ, १६ पुस ।
तोङ्बाको रसैले झुमझुम बनायो
झुमझुम बनायो मलाई,
तोङ्बाको रसैले झुमझुम बनायो
यो गीतको शब्द जस्तै हिलेको तोङ्बाले पारखीको मन तताउँछ । हिले भन्नेबित्तिकै तोङ्बाको पहिचान आउँछ भने ताप्लेजुङले सुकुटी । त्यसो त हिलेमा सुकुटी र ताप्लेजुङमा तोङ्बा पनि पाइन्छन् । यी दुई चिजको संयोजन भयो भने पारखीको मन फुरुङ्ग हुन्छ ।
हिलेमा चार पुस्तादेखि तोङ्बा र ताप्लेजुङमा तीन पुस्तादेखि सुकुटी बन्न थालेको हो । हिले पुग्नेबित्तिकै तोङ्बाको सालिकले स्वागत गर्छ । यहाँको पहिचान नै तोङ्बाको सालिकले दिन्छ । धनकुटा सदरमुकामबाट १३ किमि उत्तरस्थित हिले बजार करिब १९ सय मिटर उचाइमा छ । बाह्रैमास चिसो हुने यो ठाउँमा पुग्दा घुमन्ते प्राकृतिक सुन्दरतामा रमाउनुका साथै तोङ्बा र सुकुटीको स्वाद लिन्छन् । तोङ्बाको आकर्षण भएकाले सानाठूला होटलमा अनिवार्य रहेको स्थानीय होटल व्यवसायी पेम्बा लामा बताउँछन् । ‘हामीले चार पुस्तादेखितोङ्बा बनाउँदै आएका छौं,’ उनी भन्छन्, ‘घुम्न आउनेले अगाडि नै फोन गरेर तोङ्बा अर्डर गर्छन् । तोङ्बासँगै सुकुटी नभए मज्जा हुँदैन ।’
उता ताप्लेजुङ कतिपय स्थानीय तरकारीमा सुकुटी नभए भान्सा चल्दैन । फुङलिङ नगरपालिका–४ जौबारीकी कमला राजभण्डारी श्रेष्ठ हरेक तरकारीमा सुकुटी मिसाउँछिन् । ‘तरकारीमा सुकुटी नमिसाए के नपुगे जस्तो हुन्छ,’ उनले भनिन् । बाहिरबाट त्यहाँ जानेहरूको मनमा सुकुटी बस्ने नै भयो । हिले पुग्दा बजारको मुख्य चोकमा सजिएको एक अग्लो वृत्ताकार भाँडो पर्यटकको स्वागतमा उभिएको छ । यही सालिकले आगन्तुकलाई तोङ्बाको विशेष क्षेत्र भनेर बुझाउँछ । स्थानीय प्रयासमा तोङ्बाको २२ फिट अग्लो र ४ मिटर गोलाइ आकारको सालिक बनाइएको हो । तोङ्बा हिलेमा मुख्य पेय पदार्थका रूपमा स्थापित भएको होटल व्यवसायी तथा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लालचन गोङ्बा बताउँछन् ।
स्थानीय को प्रयासमा करिब १० लाखको लागतमा निर्माण गरिएको तोङ्बा पार्कलाई हिलेको मौलिकतासँग गाँस्न खोजिएको निर्माण समिति उपाध्यक्ष राम तामाङले बताए । ‘तोङ्बाले यहाँको मौलिकता झल्काउने भएकाले सालिक बनाइएको हो,’ उनले भने । हिले पुग्ने अधिकांशले बजारको पुछारमा सजिएको तोङ्बाको आकर्षक भाँडोमा सेल्फी खिचेर पुगेको सन्तुष्टि लिन्छन् । काठमाडौंबाट परिवारसाथ त्यहाँ पुगेका सुजल महर्जनलेतोङ्बा पिउँदा जस्तै सेल्फी खिच्दा आनन्द महसुस भएको बताए । तोङ्बा यहाँ सदावहार भएकाले ग्राहकहरू यसको स्वाद लिन जाने गरेका छन् । हिलेमा तोङ्बा बेच्ने साना–ठूला करिब ५० होटल छन् । मज्जालेतोङ्बाको स्वाद लिने हो भने कम्तीमा एक घण्टाको समय लिनैपर्ने व्यवसायी बताउँछन् । हरेक दिन हिलेका होटलमा तोङ्बा र सुकुटी खानेको भीड हुने स्थानीय मञ्जु तामाङ बताउँछिन् । तोङ्बालाई तातो पानीमा भिजाएर कम्तीमा चार पटकसम्म स्वाद लिन सकिने पेम्बा लामाले बताए । होटलैपिच्छे फरक दर छ । डेढ सयदेखि तीन सयसम्म यसको मूल्य छ ।
कान्तिपुर दैनिकबाट