Logo

ग्रहदशा काट्न बाघलाई भोजन



काठमाडौं, १६ पुस । मनोकांक्षा पूरा गर्न ब्रत बस्ने, मन्दिर गएर पूजा गर्ने तथा बटुवा र वृद्धवृद्धालाई भोजन गराउने प्रशस्तै भेटिन्छन् । तर ग्रहदशा कटाउन बाघलाई पनि भोजन गराउँछन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जावलाखेलस्थित सदर चिडियाखानामा यस्तो पनि व्यवस्था छ ।

चिडियाखानाकी वरिष्ठ क्युरेटर जनावरको व्यवस्थापन विज्ञ रचना शाहका अनुसार बाघलाई हरेक आइतबार भोजन खुवाउने व्यवस्था गरिएको छ । भोजन गराउन चाहनेले अघिल्लो दिन नै चिडियाखानामा खबर गर्नु पर्छ । चिडियाखाना व्यवस्थापनले अघिल्लो दिनको अर्डर अनुसार भोजनको व्यवस्था गराउँछ ।

कुन ग्रहका लागि कसलाई भोजन

  • सूर्य–मंगलका लागि बाघ
  • राहुका लागि हात्ती
  • चन्द्रका लागि परेवा
  • वृहस्पति–शुक्रका लागि गाई
  • शनि–केतुका लागि कुकुर
  • बुधका लागि बाख्रा

शाहका अनुसार कुनै दिन ६ सात जनाले खुवाउँछन् भने कुनै दिन एक जना पनि आउँदैनन् । बाघलाई भोजन गराउन चाहनेले प्रतिव्यक्ति दुई सय रुपैंया शुल्क तिर्नुपर्छ । यो शुल्कमा चिडियाखाना व्यवस्थापनले नै मासु उपलब्ध गराइदिन्छ । चिडियानाका कर्मचारीको सहयोगमा मासु खुवाउने व्यवस्था गरिने साहले जानकारी दिइन् । ज्योतिषविज्ञ डा। सुनील सिटौलाका अनुसार सूर्य र मंगल ग्रहबाट शान्तिका लागि बाघलाई भोजन गराउने व्यवस्था छ ।

चिडियाखाना व्यवस्थापनले हात्तीलाई पनि भोजन गराउने व्यवस्था गरेको छ । हरेक दिन मंगलबार हात्तीलाई भोजन गराउन सकिन्छ । हात्तीलाई गणेशको वाहन मानिन्छ । गणेश भक्त मंगलबार ब्रत बस्छन् । चिडियाखानामा हात्तीलाई भोजन गराउँदा भने प्रतिव्यक्ति एक सय पचास रुपैंया तिर्नुपर्छ । उक्त शुल्क तिरेपछि प्रशासनले नै भोजनको व्यवस्था गरिदिन्छ । हात्तीलाई विशेष गरी पराल, नरिवल, काउली, बन्दागोभीलगायतका खानेकुरा खुवाउन पाइन्छ । सिटौलाका अनुसार राहु ग्रह शान्तिका लागि हात्तीलाई भोजन गराइन्छ ।

उनका अनुसार चन्द्र ग्रहबाट शान्तिका लागि परेवालाई खुवाइन्छ । वृहस्पति ग्रहका लागि गाइ, बुध्र ग्रह हुनेले बाख्रा तथा शनि र केतु ग्रहबाट शान्तिका लागि कुकुरलाई भोजन गराउँदा राम्रो हुन्छ । चिडियाखानाको पछिल्लो तथ्यांक अनुसार यहाँ एक सय १२ प्रजातिका एक हजार ९८ वटा जनावर छन् । यो एक सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ । चिडियाखानाको प्रवद्र्धन गर्न प्रशासनले चिडियानाको साथी फ्रेन्ड्स अफ जु कार्यक्रम सञ्चालन गरेको छ । यसको सदस्यता लिएका विद्यार्थी तथा संस्थाले चिडियाखानाको भान्सामै गएर फलफूल काट्न तथा जनवारलाई खुवाउन पाउँछन् ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्