Logo

अझै फरार सूचीमा



काठमाडौँ, १६ पुस । एक वर्षयता फरार रामबहादुर बम्जनलाई प्रहरीले अझै फेला पार्न सकेको छैन । आश्रमका अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा २ र ३ नम्बर प्रदेश प्रहरीले उनको खोजी गरेका थिए । ब्युरोको टोली सिन्धुलीस्थित आश्रममै पुगेर अनुसन्धान गरे पनि उनी अहिलेसम्म भेटिएका छैनन् ।

बाराको जंगलमा आश्रम बनाएर बसेका बम्जनविरुद्ध सिन्धुली र सिन्धुपाल्चोकमा हत्या, यौन शोषण र मानिस बेपत्ता पारेको कसुरमा पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानकै क्रममा सिन्धुपाल्चोक र सिन्धुलीस्थित उनको आश्रममा प्रहरीले छापा मारेपछि भागेको स्रोतले दाबी गरेको छ । खोजीमा संलग्न एक प्रहरी अधिकारीले उनी भारतमा लुकेको आशंका गरे । काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, बाराका प्रहरीको सूचीमा उनी फरार अभियुक्त हुन् । ‘गतवर्ष विभिन्न अपराध अभियोगमा अनुसन्धान अघि बढाएपछि उनी फरार छन्,’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले कान्तिपुरसँग भने, ‘उनी हाम्रो खोजी सूचीमै छन् ।’ ०७५ भदौमा रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरमा पत्रकार सम्मेलन गरेर बम्जनले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

बम्जनले आश्रममै तीन जना आनी अनुयायी बेपत्ता पारेको र एक जनाको हत्या गरेको उजुरी प्रहरीमा परेको थियो । बाराका प्रहरी प्रमुख एसपी विकास खनालले बम्जनविरुद्ध मुद्दा दायर नभए पनि गत वर्ष प्रहरीले उनको खोजी गर्न देशभर सर्कुलर गरेको बताए । ‘अहिले उनी कहाँ छन् भन्ने हामीलाई यकिन छैन,’ खनालले भने, ‘गत वर्ष अनुसन्धान गर्ने क्रममा बम्जनको देशभर खोजी भएको थियो ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्