Logo

सहरको छाउपडी, पुस्ता बदलियो, संस्कार उस्तै



काठमाडौँ, १६ पुस । सुमित्रा क्षत्रीको बाल्यकाल र किशोरावस्था पर्वतको बिहादीमै बित्यो । पहिलोपटक महिनावारी छाउ हुँदा उनी गोठमा बसिन् । ‘आमाले बार भनेपछि हामीले त्यही गर्‍यौं,’ अहिले तिलोत्तमा–६ मा बस्दै आएकी ४२ वर्षीया उनले भनिन्, ‘समाजले नै त्यस्तै चलन बसाएको थियो । मकैका खोस्टामा सुत्थ्यौं, पालैपालो कुर्न आउँथे । खाली गोठमा राख्दा दिउँसै डराएर भागूँझैं हुन्थ्यो ।’

उनकी ६५ वर्षीया आमा खगिसरा भुजेल भने आफ्नो पालामा जस्तो थियो, छोरीलाई पनि त्यस्तै गर्न लगाएको बताउँछिन् । ‘परम्परादेखि चलेकाले गरायौं,’ उनले भनिन्, ‘अहिले त सुविधा छ नि, हाम्रा पालामा त धेरै दुस्ख बेहोर्नुपर्‍यो ।’ हिँड्दा हिँड्दै रगत थाम्न राखेको कपडा झरेर उठाउनु न छोड्नु भएको उनलाई अझै सम्झना छ । पहिलोपटक महिनावारी हुँदा उनी ११ दिनसम्म गोठमा बसेकी थिइन् । ‘दुई दिनसम्म बाटोमा हिँड्न दिँदैन थिए । हिँड्यो भने बाटै भासिन्छ भन्थे,’ उनले भनिन्, ‘तर भासिएको देखिएन ।’ अहिले भने महिनावारीका बेला महिलालाई केही छुट दिन थालिए पनि भान्सा र पूजा कोठामा प्रवेश नदिने गरेको उनको भनाइ छ ।

सुमित्राकी सासू टिकीसराको भोगाइ पनि उस्तै छ । ‘भगवान्का पालादेखि चलिआएको परम्परा मान्नुपर्छ,’ ६८ वर्षीया टिकीसराले भनिन्, ‘आजकालकाले बार्न खोज्दैनन् ।’ उनका माइला छोरा–बुहारी बेलायतमा छन् । उनीहरू छाउ बार्दैनन् । उता जाँदा आपत्ति नजनाउने टिकीसरालाई घरमा नातिनी र बुहारीले भान्सा र पूजा कोठा नछोइदिए हुन्थ्यो भन्ने लाग्छ । नातिनी समीक्षा हजुरआमाको मन राख्नकै लागि भान्सा र पूजा कोठामा पस्तिनन् । ‘सफा भएर बसेपछि सहजै हुन्छ,’ उनले भनिन्, ‘आमा–हजुरआमाले बार्दै आएकाले त्यसरी नै अनुसरण गरियो ।’ कलेजमा पनि सेनेटरी प्याड उपलब्ध भएकाले पहिलेका पुस्ताले जस्तो अप्ठ्यारो नपर्ने उनको अनुभव छ ।

स्याङ्जाको गल्याङकी सावित्रा भुर्तेल पहिलोपटक महिनावारी हुँदा नौ रात गोठमै बस्नुपर्‍यो । दोस्रोमा सात दिन र तेस्रोपटक महिनावारी हुँदा पाँच दिन गोठमै बसेकी उनले चौथोपटक भने घरकै कुनामा बसेर महिनावारी बारिन् । ‘त्योबेला प्याड थिएन, कपडा प्रयोग गर्दा लुगासमेत राताम्मे हुन्थ्यो,’ ३२ वर्षीया भुर्तेलले सुनाइन्, ‘पाँच दिनसम्म नुहाउन र लुगा फेर्न पनि पाइन्थेन । परालमा बोरा ओछ्याएर सुतेका ती दिन सम्झिँदा त थुक्क महिलाको जीवन भनेजस्तो लाग्छ ।’ त्यसबेला छाउ हुनेले दूध खानु हुँदैन भन्थे । स्कुल जाने त कुरै थिएन । अहिले उनी महिनावारी भएरनभएको अरूले थाहा पाउँदैनन् । सफा भएर बस्छिन् । तर, महिनावारीका बेला श्रीमान्ले खाना पकाउँछन् । चार दिनपछि नुहाएर मात्रै आफूले पकाउने गरेको उनले बताइन् । तिलोत्तमा–६ की विनिता आचार्यको भोगाइ झन् पीडादायी छ । अलग्गै खान दिन्थे । केही छुन हुन्न थियो । पहिलोपटक महिनावारी हुँदा पुरुषको मुख हेर्न नहुने भनेर लुकाएर राख्थे । दोस्रोपटक त उनी बेहोस भइन्, तर कसैले स्वास्थ्यप्रति वास्ता गरेनन् । ‘बेस्सरी पेट दुख्यो, अस्पताल लाने चलन नभएकाले पानी फुकाएर खान दिए,’ उनले सम्झिइन् ।

सुमित्रा, सावित्रा र विनिताको भोगाइभन्दा नयाँ पुस्ताका किशोरीरमहिलाको पीडा कम छ । तिलोत्तमा–५ की सत्या भट्टराईले कक्षा ७ मा पढ्दा विद्यालयमै पहिलोपटक महिनावारी भएको थाहा पाइन् । साथीले सेनेटरी प्याडको व्यवस्था गरिदिए । प्रयोग गर्ने तरिका सिकाए । घर आएपछि बाबालाई सुनाइन् । बाबाले आफ्नै कोठामा गएर बस्न लगाए । आमा कार्यालयबाट फर्केपछि त्यही कोठामा चार दिनसम्म बस्न लगाइन् । बाहिर आउजाउ गर्न उनलाई रोकावट भएन । पाँच दिनपछि उनलाई सामान्य व्यवहार गरियो । अहिले पनि उनलाई महिनावारी हुँदा आफ्नै कोठामा सुत्ने अनुमति छ । मन्दिर जान परिवारका सदस्यले रोक्दैनन् । उनी मन्दिर जाने, भजन–कीर्तन गर्ने गर्छिन् ।
निश्चित उमेर पार गरेपछि महिनावारी हुनु प्राकृतिक नियम हो । यो स्वाभाविक भए पनि धर्मसित जोडेर पाप तथा अभिशापका रूपमा परिभाषित गर्दा यसप्रतिको कठोर धारणा उस्तै छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्